पहिरोपीडित विद्यार्थी बिचल्ली

ताप्लेजुङ ८ असार । पहिरोले विद्यालय पूरै बगाएपछि जिल्लाको लिवाङ १ र २ का बालबालिकाको बिचल्ली भएको छ । लिवाङ – १ मा रहेको थोपेहाँङ प्राथमिक विद्यालयका ३५ र लिवाङ –२ को जनकल्याण प्राथमिक विद्यालयमा अध्यायनरत २५ जना गरी ५५ विद्यार्थीको बिचल्ली भएको हो ।

‘पहिरोले बस्ती नै बगाएको छ ,यहाँका धेरै मानिस विस्थापित भएका छन,अब विद्यार्थीहरुलाई कहाँ राखेर पढाउने भन्नेबारेमा म अन्यौलमा छु’ थोपेहाँङ प्राविका प्रधानाध्यापक टंक अधिकारीले भने । अधिकारीका अनुसार विद्यालयको भर्खरै साढे सात लाखको लागतमा बनेका ब्लकसहित दुई भवन र शौचालय तथा खेलमैदान बगाउँदा करिब १५ लाखबढीको क्षति भएको छ । पहिरोमा परी सोही विद्यालयमा कक्ष तीनमा पढ्ने छात्र चित्र गिरीको समेत ज्यान गएको छ ।
यस्तै लिवाङ – २ मा रहेको जनकल्याण प्राविको भवन,शौचालय तथा खेलमैदान बगाउँदा झण्डै आठ लाखबढीको क्षति भएको विद्यालयका प्रधानाध्यापक देबिन्द्र लिम्बुले जानकारी दिए । थोपेहाँङ प्राविमा अध्यायनरत सपना लिम्बु र अर्जुन लिम्बुको पनि पहिरोमा परी ज्यान गएको लिम्बुले बताए ।
पहिरोले ६ गाविसका विद्यालयमा क्षति पुर्‍याएको र मानिसहरु विस्थापित भएपछि खोक्लिङ श्रोत केन्द्रका २९ विद्यालयमा १७ बन्द रहेका छन । विद्यार्थीहरु विद्यालय आउने जाने बाटो भत्किएको र विस्थापित भएका विद्यार्थीको विद्यालयमा बसेर पढ्ने मानसिकता नभएको अबस्थामा विद्यालयहरु बन्द गरिएको श्रोत व्यक्ति मैयादेवी उप्रेतिले बताइन् । आगामी १३ असारदेखि मात्र विद्यालयहरुमा वर्षे विदा गर्ने निर्णय भएकोमा पहिरोका कारणले वर्षे विदा अगाबै ती विद्यालयहरु विदा गरिएको उप्रेती बताउछिन ।
ताप्लेजुङका जिल्ला शिक्षा अधिकारी पूर्णबहादुर दर्जीले पहिरोले पूर्णरुपमा क्षति पु¥याएका विद्यालयहरु पूनःस्थापना गर्ने सम्बन्धमा बस्ती कहाँ बस्ने हो त्यसमा भर पर्ने जानकारी दिए । अहिले विद्यालय क्षेत्रमा विद्यालयसंगै बस्ती नै नभएको र विद्यालय कहाँ पुनःस्थापना गर्ने टुङ्गो भइ नसकेको बताए । २७ जेठमा गएको पहिरोमा बेपत्ता भएका २० जनाको अझै कुनै पत्तो लागेको छैन भने ३९ जनाको मृत्यु भइसेकेको छ । पहिरोमा परि तीन सय ३२ परिवार विस्थापित भएका छन् ।

प्रतिक्रिया