काठमाडौं । लामो समयदेखि युकेमा बस्दै आएका पूर्वब्रिटिस आर्मी कृष्ण तुलाचनले रचना गरेको ‘हाम्रो दाना गाउँ’ बोलको गीतको म्युजिक भिडियो राजधानीमा सार्वजनिक भएको छ । वरिष्ठ गायिका कुन्ती मोक्तान र संगीतकार शिलाबहादुर मोक्तानले भिडियो सार्वजनिक गरेका हुन् ।
दुर्गा परियारको स्वरमा सजिएको गीतमा भागिर सुशलिन मगर र प्रकाश सपुतको संगीत रहेको छ । भोज गुरुङले निर्देशन गरेको भिडियोमा खिम गुरुङको छायांकन, दीलिप रानामगरको कोरियोग्राफी र बालटासी गुरुङको सम्पादन रहेको छ । भिडियोमा यशोदा पूर्जा, करुणा तुलाचन, कल्पना श्रीपाल र कुमारी गुरुङलगायतले फिचरिङ गरेका छन् । भिडियोलाई मुनाल फिल्मस्ले निर्माण गरेको हो ।
भिडियोमा म्याग्दी र मुस्ताङको सीमानामा रहेको दाना गाउँका रमणीय दृश्यलाई प्रस्तुत गरिएको छ । यसबाहेक भिडियोमा विश्वकै सबैभन्दा गहिरो अन्ध गल्छी र दाना गाउँमा रहेको रुप्से छहरालाई पनि देख्न पाइन्छ ।
गीतकार तुलाचनले आपू जन्मेको ठाउँ दाना गाउँलाई प्रवद्र्धन गर्दै त्यहाँ स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन गीत सिर्जना गरेको जनाए । ‘हाम्रो जिल्लामा रहेका धेरै गाविसका गीत बनिसकेका छन्, गीतकै कारण ती गाउँहरूको प्रवद्र्धन र विकास पनि भइरहेको छ,’ विगत आठ वर्षदेखि युकेमा बस्दै आउनुभएका तुलाचनले भने, ‘राष्ट्रले गाउँलाई चिनाउनुपर्नेमा आप्mनो समुदायका मान्छेहरू आपै गाउँ चिनाउन सक्रिय छन्, त्यसकारण पनि म मेरो गाउँ चिनाउन अग्रसर भएको हुँ ।’ उनले एक वर्ष लगाएर गीत रचना गरेका हुन् ।
समाजसेवालाई विशेष प्राथमिकता दिने गीतकार तुलाचनले युकेमा फ्रेन्डली ब्रदर दाना सेरोफेरो कम्युनिटमार्पत आफ्नो गाउँमा रहेको ज्ञान प्रकाश उमाविको विकासका झन्डै एक करोड १५ लाख रुपैयाँ सहयोग गरेका छन् । ०६८ सालबाट उच्च माविको सम्बन्धन पाए पनि निजी स्रोतबाट प्लस टुका शिक्षकलाई पारिश्रमिक दिन समस्या भएपछि यसै संस्थाको पहलमा हङकङ, युके र ब्रुनाइलगायतका स्थानमा स्कुलको बारेमा डकुमेन्ट्री बनाएर च्यारिटी सो गरिएको थियो । कोषमा अर्को वर्षसम्ममा दुई करोड रुपैयाँ जम्मा पार्ने उनको लक्ष्य रहेको छ । (सौस)
प्रतिक्रिया