धनकुटा ६ असार । ब्वाइज युनियनलाई पराजित गर्दै झापा ११ ले धनकुटामा जारी सहिद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ ।
धनकुटाको तल्लो टुँडिखेलमा शनिबार भएको फाइनल खेलमा ब्वाइज युनियन क्लब काठमाडौंलाई २–० गोलले पराजित गर्दै झापा ११ ले गोल्डकपको उपाधि कब्जा गरेको हो । झापालाई उपाधि दिलाउन मध्यान्तरपछिको दोस्रो मिनेटमा विशाल राई ‘ए’ र १६ औँ मिनेटमा कर्ण लिम्बूले समान एक÷एक गोल गरेका थिए । उपाधि विजेता झापाले १ लाख १५ हजार नगदसहित गोल्डकप हात पारेको छ भने उप–विजेता ब्वाइज युनियनले ५५ हजार ५ सय ५५ नगद, सिल्ड, मेडल र प्रमाणपत्रमै चित्र बुझाएको छ । विजेता टिम झापाका बुद्ध चेम्जोङ प्रतियोगिता भरको सर्वोत्कृष्ट खेलाडी घोषित भएर ५ हजार नगद प्राप्त गरे । त्यस्तै, सर्वाधिक २÷२ गोल गर्नेमा पनि बुद्धसँगै झापाकै विशाल राई भए ।
उनीहरूले ४ हजार नगद पुरस्कार पाए । दुवै टिम र खेलाडीलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधी र सभासद् एवं सहिद पुत्र मनोहरनारायण श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए । सात दिनसम्म सञ्चालित प्रतियोगितामा उपाधिका लागि दुई विदेशीसहित ८ टिमबीच खेल भएको थियो ।
प्रतिक्रिया