क्यानको निर्वाचन कात्तिकमा

काठमाडौं, ६ असार । नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन आगामी कात्तिकमा भैरहवामा हुने भएको छ ।

शनिबार काठमाडौंमा सम्पन्न क्यानको तेस्रो साधरणसभाले चारवर्षे कार्यकाल समाप्त हुनुअगावै निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले नयाँ नेतृत्व चयनका लागि आगामी कात्तिक २० र २१ गते भैरहवामा अधिवेशन गर्ने निर्णय गरेको हो । क्यानले चारवर्षे कार्यकाल समाप्त भएका जिल्लाले १५ असोजसम्म साधरणसभा सम्पन्न गराई क्यानलाई २५ असोजभित्र निर्वाचन गराएको कागजपत्र बुझाउन अनुरोध गरेको छ । साधरणसभाले अधिवेशनबाट विधान संशोधनका लागि पाँच सदस्यीय विधान संशोधन समिति पनि गठन गरेको छ ।
यस्तै, साधरणसभाले प्रशासन कर्मचारी नियमावली, आर्थिक नियमावली र बजेट विनियोजन पनि पारित गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जथाभावी रूपमा खर्च गरेर भ्रष्टाचार गरेको भन्दै आफ्ना क्यानका १० जना पदाधिकारी भ्रष्टाचारमा मुछिएपछि क्यानले प्रशासन नियमावली र आर्थिक नियमावली बनाएको हो । संघका कोषध्यक्षबाट आर्थिक वर्ष ०७२÷७३ का लागि क्यानले १५ करोड ६ लाखको वार्षिक बजेटलाई सर्वसम्मतबाट पारित गरेको छ । जसअनुसार क्यानले जिल्ला संघलाई वार्षिक ५० हजार र क्षेत्रलाई एक लाख कार्यालय सञ्चालनका लागि विनियोजन गर्ने निर्णय पनि गरेको छ ।
नेपाली क्रिकेट विकासका लागि पाँचवर्षे रणनीतिक योजना बनाई केन्द्र, क्षेत्र र जिल्लामा रहेका भौतिक पूर्वाधारको पुनर्निर्माण र स्वामित्वका लागि जिल्ला र क्षेत्रीय संघको मताहातमा राख्न राखेपसँग समन्वय गर्ने निर्णय पनि गरेको छ । यस्तै, क्यानका कार्यवहाक अध्यक्ष दीपक कोइरालाले साधरणसभा सम्पन्न गरेपछि आइसिसी र एसिसीबाट रोकिएको रकमका लागि पहल गर्ने बताए ।
प्रशिक्षक पुबुदुको सम्झौता पुससम्म थपिने
नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेको सम्झौता आउँदो पुससम्म थप्ने निर्णय गरेको छ । क्यानको शनिबार काठमाडौंमा सम्पन्न वार्षिक साधारणसभाले प्रशिक्षक पुबुदुको सम्झौता आउँदो डिसेम्बर अर्थात् पुस १५ गतेसम्म थप गर्ने निर्णय गरेको हो । प्रशिक्षक पुबुदुको सम्झौता आगामी १५ जुलाईमा सकिँदै छ । युवा तथा खेलकुद मन्त्रालयले गत वर्षको भदौमा प्रशिक्षक पुबुदुसँग १० महिने सम्झौता गरेको थियो । क्यानको साधारणसभाले पुस १५ गतेसम्म सम्झौता नविकरणका लागि युवा तथा खेलकुद् मन्त्रालयसँग आग्रह गर्ने र मन्त्रालयले नमाने नयाँ ढंगले आफै सम्झौता गर्ने निर्णय गरेको क्यानका कार्यवाहक अध्यक्ष दीपक कोइरालाले जानकारी गराए । सम्झौता नविकरणको विषयमा प्रशिक्षक पुबुदुसँग कुरा भइसकेको पनि जानकारी गराए ।

प्रतिक्रिया