पोखरा । द लुक्स फेसन होमले यहाँ पहिलोपटक आयोजना गरेको ‘मिस एसएलसी क्वीन’ को उपाधि अर्पणा गुरुङले चुमेकी छन् । गत शुक्रबार प्रकाशित एसएलसी परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण गरेकी उनले १० जना प्रतिस्पर्धीलाई पछि पारेकी हुन् । स्थानीय सरस्वती आदर्श विद्यालयबाट एसएलसीमा सहभागी भएकी उनले ‘बेस्ट पर्सनालिटी’ र ‘बेस्ट डान्स’ अवार्ड पनि पाइन् ।
पोखरा उद्योग वाणिज्य संघको सभाहलमा भएको फाइनलमा सेन्ट मेरिजकी विद्यार्थी अञ्जली तिवारी फस्ट रनर अप र कुमुदिनी होम्सकी प्रतिक्षा शाक्य सेकेन्ड रनर अप भइन् । प्रतिक्षाले ‘मिस डिसिप्लेन’ र ‘बेस्ट पपुलर’ विधागत अवार्ड पनि पोल्टामा पारिन् ।
प्रतियोगितामा रवीना पुन ‘मस्ट ट्यालेन्ट’, अनिता छन्त्याल ‘मिस हेल्दी हेयर’, बेविना गुरुङ ‘मस्ट क्रियटिभ’, श्वेता विक ‘मिस क्याट्वाक’, विना पुन ‘मिस एक्टिभ’, सुमी थापामगर ‘मिस फ्रेन्डसीप’, कामना थापा ‘मिस बेस्ट परफर्ममेन्स’, सोमना चोचाङ्गी ‘मिस कन्फिडेन्स’ बने ।
प्रतियोगिताको निर्णायकमा सौन्दर्यकर्मी युनियनकी पूर्वअध्यक्ष मीना गुरुङ, अन्नपूर्ण एफएमकी प्रबन्ध निर्देशक सुनयना पालिखे, कसमसका प्रबन्ध निर्देशक तेजबहादुर गुरुङ, ज्ञानुबाबा बोर्डिङका प्रिन्सिपल दिनेश अर्याल, मिस कल्चर नेपाल २०१० की विजेता तथा कोरियोग्राफर सुरक्षा गुरुङ थिए । (सौस)
प्रतिक्रिया