केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्डको तयारी पूरा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना गर्ने सातौँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिताको तयारी पूरा भएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड सञ्चालन तथा व्यवस्थापन समितिका सचिव एवं राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख प्रकाशचन्द्र घिमिरेले जानकारी गराए । प्रतियोगिता पोखरा रंगशाला हातामा शनिबारदेखि सुरु हुँदै छ ।
प्रतियोगिता पहिलोपटक मोफसलमा हुन लागेको हो । अघिल्ला सबै संस्करण काठमाडौंमा भएको थियो । गत वैशाखको शक्तिशाली भूकम्प र लगातारको पराकम्पनका कारण दुईपटक प्रतियोगिताको मिति स्थगित भएको थियो । यसअघि २७ देखि २९ वैशाख तथा २४ देखि २६ जेठसम्म प्रतियोगिता काठमाडौंमा हुने भनिएको थियो ।
एथलेटिक्समा २६, भलिबलमा दुई, करातेमा आठ तथा उसु र तेक्वान्दोमा ६–६ गरी जम्मा ४८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । पाँच विकास क्षेत्रबाट जम्मा तीन सय ६० खेलाडीको सहभागिता रहनेछ ।
टिममा शीर्ष तीन स्थान हात पार्नेले २५ हजार, उपविजयीले २० हजार तथा तेस्रो हुनेले १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । यसमा एथलेटिक्स र भलिबलको पदकलाई मात्र निश्चित अंक दिई टिम च्याम्पियनको घोषणा गरिनेछ ।
पाँचै खेलको व्यक्तिगत स्पर्धामा पहिलो हुनेले तीन हजार, दोस्रोले दुई हजार र तेस्रोले एक हजार रुपैया पुरस्कार हात पार्नेछन् । त्यस्तै समूहगतमा पहिलोले एक हजार पाँच सय, दोस्रोले एक हजार र तेस्रोले पाँच सय रुपैया पुरस्कार जित्नेछन् । (सौस)

प्रतिक्रिया