एसएलसीमा विशिष्ट श्रेणी, भूकम्पमा फेल

काठमाडौं, ५ असार । गोरखा मसेल–२ की १६ वर्षीया इन्दिरा बगाले पढाइमा अब्बल थिइन् । गतवर्ष एसएलसी दिएकी इन्दिराले ८२.७५ प्रतिशत अंक ल्याएर स्कुलकै अब्बलमा आफूलाई द¥याइन् । तर, उनले नतिजा सुन्न पाइनन् ।

एसएलसी परीक्षा दिएर काठमाडौं आएकी इन्दिरा १२ वैशाख शनिबार खाना खाएपछि आफन्तसँग घुम्न वसन्तपुर पुगेकी थिइन् । ११ः५६ बजे ७.६ रिक्टरको भूकम्पले दुई आफन्तसहित उनको समेत ज्यान लियो । लामो खोजतलाससँगै १० दिनपछि इन्दिराको शव परिवारले टिचिङ अस्पतालमा फेला पारे ।
यतिबेला इन्दिरा एसएलसी पास गर्ने डिस्टिङ्सनको सूचीमा छन् । यतिमात्रै होइन बिन्द्रावती माविमा ०५२ देखि ०७२ सम्मको २० वर्षे इतिहासमै धेरै नम्बर ल्याउने विद्यार्थीसमेत उनी बनिन् । तर, उनले कलेज टेक्न पाइनन् न त एसएलसीमा यति नम्बर ल्याएँ भनेर साथीभाइलाई सुनाउन पाइन् । इन्दिराका परिवार, आफन्त, साथीभाइको मनमा फेरि उनी झलझली छिन् । बुबा, आमा र बहिनी उनलाई सम्झँदै बसेका छन् । भूकम्पले घर बस्न नहुने गरी क्षति पुर्‍याएपछि दोहोरो पीडा उनको परिवारमा छ ।
फागुनको पहिलो साता बिहानै सीमा बस्नेत र संगीता थापा मगर एसएलसीको तयारीका लागि ट्युसन पढ्न वसन्तपुर पुगे । ट्युसन कक्षामै उनीहरूमाथि एसिड प्रहार भयो, ट्युसन पढ्न कक्षा छिरेका उनीहरू एसिड आक्रमणमा घाइते भएपछि एकाएक अस्पताल भर्ना भए । दुवैले परीक्षा तयारी गर्न पाएनन् ।
घाइते अवस्थामै उनीहरूले अस्पतालको शैयाबाट परीक्षा दिए । शुक्रबार सार्वजनिक नतिजाअनुसार उनीहरूको मार्कसिटमा सीमालाई एक विषय लागेको छ, संगीताको भने मार्कसिटमा प्राक्टिकलको मात्र नम्बर चढाएको पाइएको छ । उनीहरू दुवै आफूहरूले हरेस नखाएको भन्दै पुनः सफल हुने बताउँछन् ।
६० वर्षमा एसएलसी दिएकी नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यपत्नी सुष्माको कलेज पढ्ने ठूलो रहर थियो । तर, एसएलसी नतिजामा उनी उत्तीर्ण हुन सकिनन् । केही महिनाअघि उनले भनेकी थिइन्, ‘के पढ्न भन्ने पहिले नतिजा आओस् त्यसपछि भनौँला तर कलेज पढ्न रहर ठूलै छ ।’
उसैबेला अंग्रेजी विषय लाग्छ कि भन्ने आशंका गरेकी उनले कम्पार्टसमेत नपाएको जनाइएको छ । नतिजा नआउँदै विभिन्न कलेजबाट अफर आएको समेत बताएकी उनले त्यतिबेलै भनेकी थिइन्, ‘फेल नै भए फेरि दिन्छु, एकपटकमा नै हरेसचाँहि खान्नँ ।’

प्रतिक्रिया