कोलम्बियाद्वारा ब्राजिल पराजित

brazilसान्टियागो, ४ असार । खेल सकिएपछि दुई टोलीका खेलाडीबीच विवाद हुँदा दुवै टोलीका दुई खेलाडीले रातो कार्डको दर्शन गरेको खेलमा कोलम्बियाले ब्राजिललाई पराजित गरेको छ । बिहीबार बिहान स्टेडियो डी मोनुमेन्टल सान्टियोगोमा भएको समूह ‘सी’ को खेलमा कोलम्बियाले ब्राजिललाई १–० ले पराजित गरेको हो ।

चिलीमा जारी दक्षिण अमेरिकाको सबैभन्दा पुरानो र प्रतिष्ठित प्रतियोगिता कोपा अमेरिकामा कोलम्बियालाई विजयी गराउन ३६औँ मिनेटमा जेइसन मुरिल्लोले गरेको गोल निर्णायक बन्यो । ब्राजिलको कोलम्बियासँग कोपा अमेरिकामा सन् १९९१ पछि पहिलोपटक पराजित भएको हो । चेल्सीका मिडफिल्डर जुवान कोर्डाडो फ्रिकिक प्रहारलाई मुरिल्लोले पेनाल्टी एरियाबाट प्रहार गरेको बल सिधै गोलमा परिणत भएको थियोे । मुरिल्लोको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो ।
ब्राजिलविरुद्वको खेलमा जित हात पारेपछि कोलम्बियाले अर्काे चरण प्रवेश गर्ने सम्भावना जीवितै राखेको छ । हारपछि समूह ‘सी’ मा रहेको ब्राजिल एक खेल कम खेलेको भेनेजुएलासँग समान तीन अंक भए पनि अंक तालिकाको दोस्रो स्थानमा झरेको छ । ब्राजिलले पहिलो खेलमा पेरुलाई २–१ ले हराएको थियो । जितपछि कोलम्बियाको पनि तीन अंक भए पनि गोल अन्तरका आधारमा तेस्रो स्थानमा रहेको छ । पेरु शून्य अंकसहित पुछारमा छ ।
नेइमार र बाकालाई रातो कार्ड
खेल सकिएलगत्तै विपक्षी खेलाडीसँग झगडा गरेको भन्दै चिलीका रेफ्री इनरिक ओसिसले ब्राजिली स्टार नेयमार र कोलम्बियाका कार्लोस बाकालाई रातो कार्ड दिएका छन् । रेफ्रीले खेल सकिएको अन्तिम ह्विसिल बजाएपछि नेइमारले हानेको बलले कोलम्बियाका पाब्लो अल्मेरोको ढाँडमा लागेको थियो । लगत्तै कार्लोस बाकाले नेइमारलाई पछाडिबाट धकेलेपछि दुई टोलीबीच विवाद भएको थियो । त्यसपछि रेफ्रीले दुवैजनालाई रातो कार्ड देखाए । रातो कार्ड पाएसँगै दुवैले समूह चरणको अन्तिम खेल गुमाउने भएका छन् । तनावपूर्ण बनेका खेलमा नेइमारले खेल समयमा समेत पहेँलो कार्ड पाएका थिए । जारी सिजनमा उत्कृष्ट फर्ममा रहेका नेयमारले रातो कार्ड पाएसँगै भेनेजुएलाविरुद्व हुने समूह चरणको अन्तिम खेल गुमाउने भएपछि ब्राजिललाई ठूलो झड्का लागेको छ । अर्काे चरण प्रवेश गर्नका लागि ब्राजिललाई अन्तिम खेल जित्नै पर्ने दबाब छ ।

प्रतिक्रिया