काठमाडौं, ४ असार । राष्ट्रिय खेलकुद परिषद्को निमित्त सदस्यसचिव शकुन्तला नगरकोटी विवादित बाटोमा लागेकी छन् । जिम्मेवारी पाउनासाथ उनले लिएको निर्णय अहिले अदालतसम्म पुगिसकेको छ ।
खेलकुद क्षेत्रको सर्वोच्च निकायको सर्वोच्च पदमा पहिलोपटक पुगेकी महिलाका रूपमा रहेकी नगरकोटी नेपाल क्रिकेट संघका दुई केन्द्रीय सदस्यहरू रञ्जित तामाङ र दीपक साउदलाई पदमुक्त भएको पत्र थमाउँदा विवादमा तानिएकी हुन् ।
राखेपको सिफारिसमा दुई सदस्य नियुक्त हुने व्यवस्था थियो जसअन्तर्गत निवर्तमान सदस्यसचिव युवराज लामाको सिफारिसमा तामाङ र साउद सदस्यमा मनोनीत भएका थिए तर लामाको कार्यकाल सकिएपछि निमित्त सदस्यसचिवको जिम्मेवारी पाएकी नगरकोटीले सोमबार तामाङ र साउदलाई फिर्ता बोलाइएको पत्र थमाएकी थिइन् । आपूmहरू चार वर्षका लागि नियुक्त भएकोले विनाकुनै कारण पदमुक्त गर्न नपाइने भन्दै तामाङ र साउदले पुनरावेदन अदालत पाटनमा रिट दायर गरेका थिए ।
राखेप निमित्त सदस्यसचिवको निर्णयविरुद्ध परेको रिटमा पुनरावेदन अदालत पाटनले दुवै पक्षलाई छलफलमा बोलायो । यसअघि तामाङ र साउदले अन्तरिम आदेशको माग गर्दै रिट दिएका थिए । पुनरावेदनले भने अन्तरिम आदेश जारी नगरी छलफलका लागि बोलायो ।
बिहीबार पुनरावेदन अदालतका न्यायाधीश विनोद शर्माको इजलासले अन्तरिम आदेश जारी गर्ने÷नगर्नेबारे छलफल गर्न असार ६ गते दुवै पक्षलाई बोलाएको छ । क्यानमा अध्यक्ष दीपक कोइरालाले सम्बन्धित पीडित पक्ष न्यायका लागि अदालत पुगेको सबै निर्णय अदालतले नै गर्ने बताए ।
फिर्ता बोलाइएका सदस्य रञ्जित तामाङले राखेपलाई नभएको अधिकार प्रयोग गर्दै सदस्यसचिव नगरकोटीले फिर्ता बोलाए पनि आपूmहरूलाई मान्य नहुने बताए । उनले भने, ‘हामी चार वर्षका लागि नियुक्त भएका हौ, हामीलाई विनाकारण हटाउन पाउने राखेपलाई अधिकार छैन ।’ अर्का सदस्य दीपक साउदले कुनै गल्ती भए पनि छलफलद्वारा अगाडि बढ्नुपर्ने बताउँदै विनागल्ती फिर्ता बोलाइएकाले न्यायिक लडाइँ लडेको बताए ।
यसअघि खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले पनि मन्त्रालयको जिम्मेबारी लिनासाथ तत्कालीन राखेप सदस्यसचिव युवराज लामालाई हटाउन खोज्दा विवादमा तानिएका थिए । नगरकोटीले पनि सोही निरन्तरता दिँदा विवादमा तानिएकी छन् ।
नेपाल सरकारको मन्त्रीस्तरीय बैठकको निर्णयानुसार जेठ ३२ मा नियुक्त भएकी सदस्यसचिव नगरकोटीले पनि मन्त्रीको नै बिर्सनलायक लय पछ्याउँदै खेलकुदको ऐनविपरीत कार्य गर्न थालेको आरोप लागेको छ ।
प्रतिक्रिया