पोखरा, ३ असार । प्रथम प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि क्षेत्र नम्बर ७ जनकपुरले जितेको छ ।
बुधबार पोखरा क्रिकेट मैदानमा भएको फाइनल खेलमा जनकपुरले एपिएफलाई पाँच रनले पराजित गर्दै उपाधि जितेको हो । बुधबारै भएको तेस्रो स्थानका लागि भएको खेलमा विराटनगरलाई पराजित गर्दै धनगढी तेस्रो भएको छ ।
पोखरा क्रिकेट मैदानमा जनकपुरले दिएको ४६ रनको झिनो लक्ष्य पछ्याएको एपिएफ निर्धारित २० ओभरको खेलमा १७.५ ओभरमा सबै विकेट गुमाएर ४० रनमै समेटियो । निकै खराब प्रदर्शन गरेको एपिएफका कुनै पनि ब्याट्सवुमनले दोहोरो अंकमा रन बटुल्न सकेन ।
एपिएफकी करुणा भण्डारीले आठ जोडिन् । एपिएफलाई सस्तैमा समेट्ने क्रममा जनकपुरकी सन्तोषी चौधरीले तीन तथा सरस्वती चौधरीले दुई विकेट लिइन् ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले १७.३ ओभरमा सबै विकेट गुमाएर ४५ रनको झिनो योगफल बनायो । जनकपुरका लागि सरस्वती चौधरीले सर्वाधिक १२ रनको योगदान गरिन् । जनकपुरलाई सस्तैमा समेट्ने क्रममा एपिएफकी करुणा भण्डारीले तीन विकेट लिइन् । रुविना क्षेत्रीले दुई विकेट लिइन् ।
यस्तै, तेस्रो स्थानका लागि भएको खेलमा धनगढीले विराटनगरलाई सात विकेटले पराजित ग¥यो । विराटनगरले दिएको ७२ रनको लक्ष्य धनगढीले तीन विकेट गुमाएर १३.२ ओभरमा पूरा ग¥यो ।
टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित १४ ओभरमा पाँच विकेटको क्षतिमा अप्सरी वेगमले २६ र संगीता राईको २३ रनको मद्दतमा विराटनगरले ७१ रन जोडेको थियो । धनगढीका लागि निर्मला शाहीले दुई विकेट लिइन् ।
जवाफी ब्याटिङ गरेको धनगढीले निर्धारित १४ ओभरमा ६ विकेट गुमाउँदै ७३ रन जोड्यो । धनगढीको जितमा निर्मला शाहीले २९ तथा र सोनु खड्काले २१ रनको योगदान गरिन् ।
प्रतियोगिताको प्लेयर अफ दि टुर्नामेन्ट जनकपुरकी अनुराधा चौधरी घोषित भइन् । उनले १० हजार रूपैयाँ पुरस्कार पाइन् । जनकपुरकै शोभा आले उत्कृष्ट ब्याट्सवुमन तथा क्षेत्र नम्बर ५ की तृष्णा सिंह उत्कृष्ट बलर घोषित भइन् । उदीयमान खेलाडी भने विराटनगरकी अप्सरी वेगम घोषित भइन् । उनीहरू प्रत्येकले पाँच हजार रुपैयाँ पाए ।
जितसँगै जनकपुरले ५० हजार रुपैयाँ पायो । उपविजेतामा सीमित बनेको एपिएफले ३० हजार रुपैया पायो । तेस्रो बनेको धनगढीले २० हजार रुपैया पायो । विजयी टोलीलाई नेपाल प्रहरीका डिआइजी पंकज श्रेष्ठ र एपिएफका डिआइजी जानकीप्रसाद भट्टराईले पुरस्कृत गरे ।
प्रतिक्रिया