धर्मशाला, २ असार । आइसिसी विश्वकप छनोट र विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीमा रहेको नेपालले आफ्नो तेस्रो अभ्यास खेलमा पहिलो पराजय बेहोरेको छ ।
हिमाञ्चल क्रिकेट मैदानमा मंगलबार भएको तेस्रो अभ्यास खेलमा नेपालले घरेलु टोली हिमाञ्चल प्रदेशसँग २४ रनले पराजित भएको हो । यसअघि नेपालले पहिलो र दोस्रो अभ्यास खेलमा जित निकालेको थियो ।
हिमाञ्चलले दिएको १३७ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११२ रनमा समेटियो । नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान शरद भेषवाकरले ३६ रनको अविजित पारी तथा ओपनर सुवास खकुरेलले २३ रनको पारी खेले पनि टोलीलाई तेस्रो जित दिलाउन सकेनन् । ज्ञानेन्द्र मल्ल १२, विनोद भण्डारी ११ र कप्तान पासर खड्का १० रनमा नै पभेलियन फर्किए । यस्तै, राजेश पुलामी सात, सिदान्त लोहनी तीन र सोमपाल कामी १ रनमा नै आउट भए । हिमाञ्चलका लागि राघव धवनले तीन विकेट लिए । कुमार अभिनय, श्रेष निर्माेही, अंकुश शर्मा र राहुल सिंहले समान एक–एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली हिमाञ्चलले निर्धारित २० ओभरको खेलमा सात विकेटको क्षतिमा १३६ रन जोडेको थियो । हिमाञ्चलका लागि अभिमन्यु रानाले २६ रन जोडे । अमित ठाकुरले २३ तथा सुमित वर्माले २० रनको योगदान दिए । यस्तै, नकुल राज १६ तथा अमित कुमार १५ रनमा पभेलियन फर्किए । कप्तान प्रविन ठाकुर १० रनमा आउट भए । नेपालका लागि करन केसीले तीन तथा सिद्धान्त लोहनीले दुई विकेट लिए । सोमपाल कामीले एक विकेट आफ्नो नाममा लेखाए । हिमाञ्चलको जितसँगै शृंखला २–१ पुुगेको छ ।
आयरल्यान्ड र स्कटल्यान्डमा जुलाई ६ देखि २६ सम्म हुने टी–ट्वान्टी विश्वकप छनोट तथा आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा च्याम्पियनपसिपमा स्कटल्यान्डसँग हुने खेलका लागि नेपाली टोली भारतमा अभ्यासरत छन् । समूह ‘ए’मा रहेको नेपालले आयोजक आयरल्यान्डसँगै हङकङ, पपुवा न्युगिनी, नामिबिया, अमेरिका र जर्सीसँग समूह चरणको पहिलो खेल जुलाई १० मा अमेरिकाविरुद्ध खेल्दै छ । १४ टोलीले सहभागिता जनाएको प्रतियोगिताको शीर्ष ६ टोली अर्को वर्ष भारतमा हुने विश्व टी–ट्वान्टी प्रतियोगिताका लागि छनोट हुनेछन् । अन्य ४ टोली भने प्लेअफ खेल्नुपर्ने हुन्छ । विश्वकप छनोटपछि नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत स्कटल्यान्डसँग जुलाई २५ र २७ मा दुई खेल खेल्नेछ ।
प्रतिक्रिया