राष्ट्रपति रनिङ सिल्ड पोखरामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा केन्द्रस्तरीय राष्ट्रपति रनिङसिल्ड खेलकुद प्रतियोगिता पोखरामा ५ असारदेखि हुने भएको छ । सातौँ संस्करण आइपुग्दा प्रतियोगिता पहिलोपटक मोफसलमा हुन लागेको हो । अघिल्ला सबै संस्करण काठमाडौंमा भएको थियो ।
गत वैशाखको शक्तिशाली भूकम्प र लगातारको पराकम्पनका कारण दुईपटक प्रतियोगिताको मिति स्थागित भएको थियो । यसअघि २७ देखि २९ वैशाख तथा २४ देखि २६ जेठसम्म प्रतियोगिता हुने भनिएको थियो । दुवैपटक आयोजना स्थल काठमाडौं तोकिएको थियो ।
एथलेटिक्समा ३८, भलिबलमा दुई, करातेमा आठ तथा उसु र तेक्वान्दोमा ६–६ गरी जम्मा ६० स्वर्णका लागि प्रतिस्पर्धा हुने केन्द्रस्तरीय राष्ट्रपति रनिङसिल्ड व्यवस्थापन समितिका सचिव एवं राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख प्रकाशचन्द्र घिमिरेले जनाएका छन् ।
प्रतियोगितामा पाँच विकास क्षेत्रबाट ७४ का दरले जम्मा ३ सय ७० खेलाडीको सहभागिता रहने खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृत मीनकुमार शर्माले जानकारी गराए ।
टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यसमा एथलेटिक्स र भलिबलको पदकलाई मात्र निश्चित अंक दिइ टिम च्याम्पियनको घोषणा गरिनेछ ।
पाँचै खेलको व्यक्तिगत स्पर्धामा पहिलो हुनेले तीन हजार, दोस्रोले दुई हजार र तेस्रोले एक हजार नगद पुरस्कार हात पार्नेछन् । त्यस्तै, समूहगतमा पहिलोले एक हजार पाँच सय, दोस्रोले एक हजार र तेस्रोले पाँच सय नगद पुरस्कार जित्नेछन् । (सौस)

प्रतिक्रिया