सान्टियागो, २ असार । चिलीमा जारि दक्षिण अमेरिकाको सबैभन्दा पुरानो कोपा अमेरिका फुटबल प्रतियोगितामा घरेलु टोली आयोजक चिली मेक्सिकोसँग बराबरीमा रोकिएको छ ।
प्रतियोगिताअन्तर्गत मंगलबार बिहान इस्टेडियो नासिनल सान्टियागोमा भएको खेलमा आयोजक चिली मेक्सिकोसँग तीन–तीन गोलको बराबरीमा रोकिएको छ । निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा अग्रता भने पाहुना टोली मेक्सिकोले बनाएको थियो । खेलको २१औँ मिनेटमा मार्टिस भुसोले जुवान मेडिनाको पासमा पेनाल्टी एरियाबाट गोल गर्दा मेक्सिकोले सुरुआती अग्रता लिएको थियो । तर, त्यसको एक मिनेट बित्न नपाउँदै चिलीले बराबरी गोल फर्कायो । २२औँ मिनेटमा चार्लेस अरानग्वेजको कर्नर बलमा आर्टुरो भिडालले हेड गोल गर्दै खेल बराबरीमा ल्याए । २९औँ मिनेटमा राउल जिमेनेजले एड्रियन एल्डेडको कर्नर बलमा नै गोल गर्दै मेक्सिकोलाई पुनः अग्रता दिलाए । ४२औँ मिनेटमा चिलीले खेललाई पुनः बराबरीमा ल्यायो ।
भिडालको क्रसमा अनमार्क रहेका इडुवार्डाे भारगासले हेड गोल गर्दै खेललाई बराबरीमा ल्याउँदा पहिलो हाफ दुई–दुई गोलको बराबरीमा सकियो । ५५औँ मिनेटमा मेक्सिकोका जेसस कोरनाले भिडाललाई पेनाल्टी एरियामा लडाएपछि घरेलु टोली चिलीले पेनाल्टीको अवसर पायो । जसलाई भिडालले गोल गर्दै खेलमा तीन–दुईको अग्रता दिलाए । ६६औँ मिनेटमा चिलीका गोलरक्षक अगाडि बढेको अवस्थामा मार्टिस भुसोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि कुनै टोलीबाट गोल हुन नसक्दा खेल तीन–तीन गोलको बराबरीमा सकियो ।
यस्तै मेक्सिकोसँग गोलरहित बराबरी खेलेको बोलिभियाले प्रतियोगितामा पहिलो जित निकालेको छ । इस्टेडियो इल्फास फिगुरा मैदानमा मंगलबार बिहान भएको खेलमा बोलिभियाले इक्वेडरलाई तीन–दुई गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो । खेल सुरु भएको पाँचौ मिनेटमा नै स्मेडवर्ग डालेन्सको कर्नर बलमा अनमार्क रहेका रानोल्ड राल्डेसको गोलमार्पmत अग्रता लिएको बोलिभियाले १८औँ मिनेटमा अग्रता दोब्बर बनायो ।
बोलिभियाका लागि दोस्रो गोल मार्टिन डालेन्सले गरेका थिए । मार्टिन मोनेरोको पासमा डालेन्सले डिएरियाभन्दा बाहिरबाट गरेको शक्तिशाली प्रहार सिँधै गोलमा परिणत भएको थियो । ४३औँ मिनेटमा मार्सेलो मोलेनोले पेनाल्टीमा गोल गरेपछि बोलिभियाले पहिलो हाफमा तीन–शून्यको अग्रता लिएको थियो । इक्वेडरले दोस्रो हाफमा दुई गोल गरे पनि त्यो जितको लागि पर्याप्त भएन । खेलको ३८औँ मिनेटमा पेनाल्टी चुकाउनु इक्वेडर पराजित हुनुको कारण बन्यो । इनर भ्यालेन्सियाले पेनाल्टीको पहिलो प्रहारमा गोल गरे पनि रेफ्रीले अर्काे पेनाल्टी प्रहार गराउँदा भ्यालेन्सियाको प्रहार बोलिभियाका गोलरक्षकले बचाएका थिए । पेनाल्टीमा गोल गर्न नसके पनि ४८औँ मिनेटमा भ्यालेन्सियाले नै गोल गर्दै गोलअन्तर कम गर्यो । जेफर्सन मोन्टेरोले तीन डिफेन्डर र गोलरक्षकलाई छलाउँदै दिएको पासमा भ्यालेन्सियाले खाली पोस्टमा गोल गरेका थिए । ८१औँ मिनेटमा मिलर बोलानोसले गोल गर्दै इक्वेडरलाई खेलमा फर्काउने संकेत गरे । त्यसपछि कुनै दुवै टोलीबाट गोल हुन नसक्दा पहिलो हाफमा गरेको तीन गोल नै बोलिभियाको जितमा पर्याप्त बन्यो ।
प्रतिक्रिया