ढाका, १ असार । बङ्गलादेशको उच्च अदालतले एकजना मुस्लिम वरिष्ठ नेतालाई मृत्युदण्डको सजायको सदर गरेको छ । देशमा स्वतन्त्रताको आन्दोलन चलिरहेको समयमा भएको युद्धअपराधको आरोप उनीमाथि थियो ।
यसअघिको अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएकोमा यो उच्च अदालतले उक्त सजायलाई नै सदर गरेको हो ।
बङ्गलादेशको अन्तिम अदालतले यो फैसला गरेपछि अब अलि अहसन मोहम्मद मुजाहिदलाई मृत्युदण्ड दिइने निश्चित भएको छ । उनलाई यसै महिनाको अन्त्यसम्ममा यो सजाय दिइने बताइएको छ ।
सन् १९७१ मा बङ्गलादेशको स्वतन्त्रताका लागि आन्दोलन भएको थियो । त्यस समयको पाकिस्तानबाट स्वतन्त्र र अलग हुन भएको सो आन्दोलनमा अहसनले युद्ध अपराध गरेको बताइएको छ ।
उनको नेतृत्वमा कयौँ बुद्धिजीवीहरूको हत्या भएको बताइएको छ । उनी पनि बङ्गलादेशको मुस्लिम पार्टीका नेता हुन् । त्यहाँको एक ठूलो दल जमात ए इस्लामका कयौँ नेतालाई पनि यसअघि मृत्युदण्ड दिइसकिएको छ ।
सन् २०१० मा बङ्गलादेश सरकारले युद्धअपराध अदालतको स्थापना गरेको थियो । सो अदालतले यसअघिदेखि नै उक्त आरोपका आरोपीहरूमाथि छानबिन गरी मृत्युदण्डसम्मको सजाय सिफारिस गरिरहेको छ ।
यस घटनाले बङ्गलादेशमा निकै नै ठूलो हिंसा मच्चाएको छ । सन् २०१० देखि नै सो हिंसा सुरु भएको छ । विशेषगरी उक्त मुस्लिम दलका प्रदर्शनकारी र प्रहरीबीच यस्तो भिडन्त हुने गरेको छ ।
यस्तो हिंसालाई बङ्गलादेश स्वतन्त्र भएपछिकै ठूलो भनिएको छ । प्राय दिनहुँजसो त्यहाँ प्रदर्शन र हिंसा हुने गरेको छ । प्रहरी र प्रदर्शनकारीबीचको यस हिंसाका कारण देशको अर्थतन्त्रमा पनि प्रभाव परेको बताइन्छ ।
यो हिंसामा परी सन् २०११ देखि आजसम्ममा कम्तीमा पनि ५०० जनाको ज्यान गएको सरकारले जनाएको छ ।
प्रतिक्रिया