युरोकप छनोटः इंग्ल्यान्ड, स्पेन र स्विडेन विजयी

लन्डन, १ असार । सन् २०१६ मा फ्रान्समा आयोजना हुने युरोकप छनोट खेलमा इंग्ल्यान्ड, स्पेन र स्वीडेन विजयी भएका छन् ।

आइतबार राति भएका खेलमा इंग्ल्यान्डले स्लोभानियालाई ३–२ ले पराजित गरेको छ । स्लोभेनियाका भेट्रान स्ट्राइकर मिलिभोई नोभाकोभिकले खेलको ३७ औँ मिनेटमा इंग्ल्यान्डको कमजोर डिफेन्सको फाइदा उठाउँदै गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाउँदा पहिलो हाफमा घरेलु टोलीले १–० को अग्रता बनाएको थियो । तर, दोस्रो हाफमा खेलमा फर्कंदै पाहुना टोली इंग्ल्यान्डले उत्कृष्ट पुनरागमन गर्र्दै जित निकाल्न सफल भयो । ५७ औँ मिनेटमा ज्याक विल्सरले बराबरी गोल फर्काए । ७३ औँ मिनेटमा अर्काे गोल थप्दै खेलमा २–१ को अग्रता बनायो । १ गोलले पछि परेपछि आक्रमक खेल खेलेको घरेलु टोलीले ८४ औँ मिनेटमा बराबरी गोल फर्कायो । घरेलु टोलीका लागि नेजिक पेटिनकले बराबरी गोल गरेका थिए । तर, त्यसको दुई मिनेटपछि नै वाइन रुनीले गोल गर्दै टोलीलाई जित दिलाए । विजयी गोल गरेसँगै रुनी इंग्ल्यान्डबाट सर्वाधिक गोल गर्ने ग्यारी लिनेकर ४८ सँगै तेस्रो गोलकर्ता बनेका छन् । उनीभन्दा बढी बबी चाल्टनले ४९ गोल गरेका छन् । यस्तै, यसै समूहको अर्काे खेलमा स्विट्जरल्यान्डले लिथिवानियालाई २–१ पराजित गरेको छ । स्टेनियाले सान मारिनोलाई २–० ले पराजित गरेको छ । जितसँगै समूह ‘इ’ मा रहेको इंग्ल्यान्ड १८ अंकसहित शीर्षस्थानमा छ । स्विट्जरल्यान्ड १२ अंकसहित तालिकाको दोस्रो तथा ९ अंकसहित स्लोभेनिया तालिकाको तेस्रो स्थानमा छ ।
यस्तै, आइतबार राति नै भएको अन्य खेलमा डिफेन्डिङ च्याम्पियन स्पेनले बेलारुसविरुद्ध १–० को कठिन जित निकालेको छ । स्पेनका लागि एक मात्र निर्णायक गोल डेभिड सिल्भाले ४५ औँ मिनेटमा गरेका थिए । स्लोभाकियाले मासेडोनियालाई २–१ ले पराजित गर्दै समूह चरणमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । यस्तै, युक्रेनले पनि लक्जेमवर्गलाई ३–० ले हराएको छ ।
समूह चरणका ६ खेलपछि स्लोभाकिया १८ अंकसहित शीर्षस्थानमा छ भने १५ अंक जोडेको स्पेन दोस्रो तथा युक्रेन १२ अंकसहित तेस्रो स्थानमा छ ।
यस्तै, अस्ट्रियाले रुसलाई १–० ले पराजित गरेको छ । जाल्टन इभ्राहिमोभिचको दुई गोलको मद्दतमा स्विडेनले मोन्टेनेग्रोलाई ३–१ को गोलअन्तरमा पराजित गरेको छ । ३७ औँ मिनेटमा मार्कुस वेगको गोलबाट अग्रता बनाएको खेलको ४० औँ मिनेटमा इभ्राहिमोभिचले अग्रता दोब्बर बनायो । ४४ औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गरे । पहिलो हाफमा गरेको तीन गोल नै टोलीको जितमा पर्याप्त बन्यो । मोन्टेनेग्रोका डेजन डाम्जानोभिकले पेनाल्टीमार्फत सान्त्वना गोल गरे ।

प्रतिक्रिया