गर्भवतीलाई थप सुविधा आवश्यक

काठमाडौं, १ असार । भूकम्पबाट घर भत्किएपछि पालमुनि बस्न बाध्य सुत्केरी र गर्भवती महिला उचित हेरचाह र आहारको कमीका कारण दोहोरो पीडामा परेकाले उनीहरूलाई थप सुविधा खाँचो देखिन्छ ।

महिला हकहितमा काम गर्ने संघसंस्थाले पालमा बसेका त्यस्ता महिला भूकम्पको पीडा तथा उचित आहार र स्याहारको कमीको दोहोरो पीडामा रहेकाले उनीलाई सरकारले आममानिसको तुलनामा थप सुविधाको व्यवस्था गर्नुपर्ने बताए ।
भूकम्पबाट प्रभावित हजारौँ मानिससँगै कयौँ सुत्केरी र गर्भवती महिला अझै पालमुनि कठिन जीवन बिताइरहेको सन्दर्भमा उनीहरूलाई सरकारले थप सुविधाको व्यवस्था गर्नुपर्ने राष्ट्रिय महिला आयोगकी अध्यक्ष शेख चाँदतारा बताउँछिन् ।
‘घरभन्दा बाहिर पालमा बस्दा सामान्य मानिसलाई त पीडा हुन्छ भने सुत्केरी र गर्भवती महिलाले झन् कति अभाव र समस्या झेल्नुपरेको होला ?’ अध्यक्ष शेख चाँदतारा प्रश्न गर्छिन् ।
भूकम्पपछि सुत्केरी तथा गर्भवती महिलाले एउटै पालमुनि सामूहिक रूपमा खाना खानुपर्दा मात्र होइन, शिशुलाई स्तनपान एवं उचित स्याहार गर्न नसक्दा बच्चा र आमा दुवैले ठूलो कठिनाइ भोग्नुपरेको उनी बताउँछिन् ।
आयोग टोलीले प्रभावित जिल्लाको अनुगमनका क्रममा कतिपय स्थानमा पालमुनि रहेका महिलालाई जिस्क्याउने र अरू अभद्र व्यवहार भएको गुनासो सुनेपछि सुरक्षाका लागि महिला प्रहरीको संख्या बढाउन गृह मन्त्रालयमा पत्राचार गरेको छ ।
भूकम्पबाट प्रभावित सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, गोरखा, मकवानपुर, लमजुङ र तनहुँको अनुगमन गरेको आयोगले काभ्रेमा पालभित्र रहेका महिलामाथि यौनजन्य हिंसा गरिएकोसमेत भेटेको थियो ।
सरकारको प्राथमिक राहतमा सुत्केरी तथा गर्भवतीका लागि छुट्टै सुविधा दिएको नदेखिएपछि आयोगलगायत विभिन्न संघसंस्थाले सरकारको ध्यानाकर्षण गराएका थिए ।
वर्षायाममा आममानिससँगै सुत्केरी तथा गर्भवतीलाई झन् अप्ठेरो पर्ने भएकाले त्यसअघि नै सरकारले सुरक्षित स्थानमा अस्थायी बसोबासको व्यवस्था गर्नुपर्ने उनीहरूको सुझाव छ ।
भूकम्पबाट घरबारविहीन भएको अवस्थामा सुत्केरी तथा सुत्केरीको आवश्यक खानपिन र उचित स्याहार हुन नसक्दा आमासँगै शिशुलाई पनि विभिन्न रोगको संक्रमण हुने चिकित्सकको भनाइ छ ।
अर्काेतिर भूकम्पले गर्भको बच्चामा असर पर्छ, बच्चा अपांग जन्मिन्छ भन्ने पराम्परागत धारणाले गर्भवती महिला चिन्तित छन् । भूकम्पको त्रासले आत्तिएका गर्भवती र सुत्केरीलाई परिवारजनका साथै सबैले उचित सुझाव, सल्लाह, हेरचाह र सहयोगका साथ सान्त्वना दिन आवश्यक रहेको ओम अस्पतालका वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजालको भनाइ छ ।
पालमुनि बस्दा हावाहुरी तथा हिलोले त्यस्ता महिलालाई संक्रमण हुनसक्ने भएकाले तत्काल पालबाट बाहिर निकाल्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिँदै खानेपानी र पौस्टिक आहारको कमीका कारण सुत्केरी र गर्भवती महिला ठूलो समस्यामा परेको उनी बताउँछन् ।
‘भूकम्पले गर्भमा रहेको बच्चामा कुनै असर पर्दैन, त्यसैले कुनै पनि गर्भवती महिलाले यसबारे चिन्ता लिनु आवश्यक छैन तर भूकम्पको भागदौड, डरत्रास तथा फोहोरको संक्रमणले गर्भको बच्चामा असर पर्न सक्छ,’ डा. रिजाल भन्छन् ।
महिलाका संवेदनशील अवस्थामा सरकारका साथै अन्य संघसंस्थाले सकेसम्म खानेकुराका साथै खानेपानी, लत्ताकपडाका साथै आवश्यक औषधि उपचारको उचित प्रबन्ध गर्नुपर्ने उनको धारणा छ ।
सुत्केरीसँग शिशु पनि हुने भएकाले सामूहिक पालमा स्तनपान गराउन र उचित स्याहारको कमीले त्यस्ता महिला दाहोरो पीडामा रहेको महिला हकहितमा कार्यरत संस्था वियोन्ड बेइजिङ कमिटी (बिबिसी) का अध्यक्ष शान्तालक्ष्मी
श्रेष्ठ बताउँछिन् ।
राहतमा महिलाका लागि अत्यावश्यक सामग्री नभएपछि आफूहरूले सरकारलाई घचघच्याउनुका साथै संस्थाका तर्फबाट झुल, पेटिकोट, गाउन, बच्चाको लुगा, सेनिटरी प्याड, महिलाका भित्री लुगा, सर्वाेत्तम पिठोलगायत सामग्री वितरण गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिइन् ।
‘गर्भवती महिलामा रहेको भूकम्पको त्रास कम गर्न र उचित सुझाव तथा सल्लाह दिन हामीले पहिलो चरणमा बिबिसीका नेटवर्किङ संस्थाको सहयोगमा सुत्केरी र गर्भवती रहेको स्थान मध्यपुर ठिमीको अस्थायी बस्तीमा ‘मिसा पासा फाल्सा’ (महिला मैत्री छलफल गर्ने थलो) विकास गरेका छाँ,’ उनले भनिन् ।
अझै पनि भूकम्प प्रभावित जिल्लाका कतिपय अस्थायी शिविरमा सुत्केरी, गर्भवती, वृद्धा तथा अपांगता भएका महिला तथा बालबालिका सामान्य खाद्यान्न, उपचार, लत्ताकपडा, सुरक्षालगायतको अभावमा दिन गुजारिरहेका छन् ।
मुलुकमा आएको भूकम्प र त्यसपछिका ठूला परकम्पबाट अहिलेसम्म आठ हजार सात सयभन्दा बढी व्यक्तिको ज्यान गुमेको छ भने २२ हजार चार सय ९३ घाइते भएका छन् । भूकम्पबाट निधन भएकामध्ये महिलाको संख्या ५५ प्रतिशत अर्थात् चार हजार आठ सय रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया