जिम्मेवारी नगरकोटीलाई

शकुन्तला नगरकोटी

शकुन्तला नगरकोटी

काठमाडौं, १ असार । डडेल्धुराकी शुकुन्तला नगरकोटीले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवको जिम्मेवारी पाएकी छन् । नेपाली खेलकुद इतिहासमै पहिलोपटक महिलाले पाएको यो ठूलो जिम्मेवारी हो । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) की सदस्य शकुन्तला नगरकोटीलाई सोमबार राखेपको सदस्य–सचिवको जिम्मेवारी दिइएको हो ।

‘राखेपको तत्काल दैनिक कार्य सञ्चालन गर्न आवश्यक भएकाले तपार्इंलाई अर्को व्यवस्था नभएसम्मका लागि राखेपको सदस्य–सचिवको रूपमा कामकाज गर्ने जिम्मेवारी तोकिएको व्यहोरा नेपाल सरकार (माननीय मन्त्रीस्तर) को मिति २०७२/२/३२ को निर्णयानुसार अनुरोध छ,’ खेलकुद मन्त्रालयले नगरकोटीलाई दिएको पत्रमा उल्लेख छ ।
खेलकुद विकास ऐन, २०४८ तथा नियम, ०४९ बमोजिम परिषद्को दैनिक कार्य (आर्थिकसमेत) सञ्चालन गर्नसक्ने अधिकारसहित उनलाई उक्त जिम्मेवारी दिइएको खेलकुद मन्त्रालयका सह–सचिव शशिशेखर श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
०२१ सालमा राखेप स्थापना भएयता कुनै पनि महिलाले सदस्य–सचिवको जिम्मेवारी पाएको यो पहिलो अवसर हो । नगरकोटीले सोमबारै त्रिपुरेश्वरस्थित कार्यकक्षमा पदभार सम्हालिन् । नगरकोटी गत वर्षको २९ जेठमा टेन्डी शेर्पा (हाल राखेप उपाध्यक्ष) र सुरेन्द्रबहादुर हमाल (हाल सदस्य­) सँगै मन्त्रिपरिषद्बाट सदस्यमा नियुक्त भएकी थिइन् । नगरकोटी नेकपा एमालेको कोटामा सदस्यमा नियुक्त भएकी थिइन् ।
०३१ सालमा कञ्चनपुरको पुनर्वासमा जेन्मेकी नगरकोटीले कबड्डी र भलिबलको राष्ट्रिय प्रतियोगितामा खेलाडीका रूपमा सहभागिता जनाइसकेकी छन् । ०६३ देखि ६६ सम्म डडेल्धुरा जिल्ला खेलकुद विकास समितिकी उपाध्यक्ष रहेकी नगरकोटी ०६४ देखि हालसम्म डडेल्धुरा जिल्ला भलिबल संघकी अध्यक्ष छिन् । नगरकोटी नेपाल खेलकुद महासंघ केन्द्रीय सचिवालयकी सदस्य एवं डडेल्धुरा जिल्लाकी पार्टी उपसचिव हुन् ।
एमालेमा सदस्य सचिवको विवाद नटुंगिएका कारण तत्कालका लागि नगरकोटीलाई सदस्य सचिवको जिम्मेवारी दिइएको हो । नेपाल खेलकुद महासंघमा आबद्ध र महासंघ बाहिरका कसलाई सदस्य सचिव बनाउने भन्नेबारे विवाद भएपछि आइतबारको मन्त्रिपरिषद्मा तीन जना सदस्यको प्रस्ताव अघि बढाए पनि प्रस्तुत हुन सकेनन् । पदवहालीअघि राखेपमा आयोजित स्वागत कार्यक्रममा नगरकोटीले दैनिक कामकाज सुचारु गर्न आफूलाई जिम्मेवारी दिइएको बताउँदै खेलकुदको विकासका निम्ति सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । एमाले भित्रको आन्तरिक विवादका कारण परिषद्मा सदस्यसचिव नियुक्त हुन सकेका थिएनन् ।

प्रतिक्रिया