महिला राष्ट्रिय क्रिकेटको सेमिफाइनल समीकरण पूरा

चितवन, ३२ जेठ । चितवन र पोखरामा जारि प्रथम प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

प्रतियोगितामा समुह ‘ए’ बाट एपिएफ समूह विजेता तथा नेपालगञ्ज समूह उपविजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भएको हो । यस्तै ‘समूह ‘बी’ जनकपुर र धनगढी अन्तिम चारमा पुग्न सफल भएका छन् ।
सेमिफाइनलका खेलहरू मंगलबारबाट पोखरा मैदानमा हुनेछ । सेमिफाइनलको पहिलो खेलमा एपिएफले क्षेत्र नम्बर ९ धनगढीसँग तथा दोस्रो सेमिफाइनलमा जनकपुरले नेपालगञ्जविरुद्व खेल्दै छ ।
चितवनको क्याम्पाचौरमा आइतबार भएको समूह चरणको अन्तिम खेलमा बैतडीले क्षेत्र नम्बर ४ भैरहवालाई ४८ रनले पराजित गर्दै प्रतियोगितामा सान्त्वना जित निकाल्यो । बैतडीले दिएको ११७ रनको लक्ष्य पछ्याएको भैरहवाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ६९ रन मात्र बनाउन सक्यो । भैरहवाका लागि वर्षा रानामगरले सर्वाधिक २८ रन बनाउनु बाहेक अन्य ब्याट्सवुमनहरूले दोहोरो अंकको योगफल छुन सकेनन् । १९ रनको अवस्थामा पहिलो विकेट गुमाएको भैरहवाको पारी वर्षा रानामगरले सम्हाल्न प्रयास गरेका थिए । तर, चौथो विकेटको रूपमा वर्षा आउट भएपछि बैतडीको कसिलो बलिङसामु भैरहवाका अन्य ब्याट्सवुमनले उनलाई गतिलो साथ दिन सकेनन् । भैरहवालाई सस्तैमा समेट्ने क्रममा अञ्जली चन्दले तीन तथा रेखा रावलले दुई विकेट हात पारिन् । सिर्जना रावलले एक विकेट आफ्नो नाममा लेखाइन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको बैतडीले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै ११६ रन बनाएको थियो । ओपनर दुई ब्याट्सवुमन सस्तैमा आउट भए पनि बैतडीको पारी मञ्जु बोगटी र रेखा रावलले सम्हालिन् । मञ्जु ३७ रनमा आउट भइन् । रेखा ३१ रनमा अविजित रहिन् । सम्झना खड्का सात रनमा पभेलियन फर्किइन् । आशा शाकी चार रनमा अविजित रहिन् । भैरहवाका वर्षा रानामगरले दुई तथा इन्दु बर्मा र एलिसा क्षेत्रीले समान एक–एक विकेट लिइन् । खेलमा बैतडीका रेखा रावल प्लेयर अफ दि म्याच घोषित भइन् ।
यस्तै शनिबारै हुने पहिलो खेल भने वर्षा बाधक बनेपछि खेल रोकिएको थियो । खेल हुन नसकेपछि दुवैले एक–एक अंक बाँडे ।

प्रतिक्रिया