मन्ट्रियल । क्यानडामा जारि महिला विश्वकप फुटबलमा ब्राजिल नकआउट चरणमा प्रवेश गरेको छ । शनिबार राती ओलम्पिक स्टेडियममा भएको खेलमा ब्राजिल स्पेनलाई १–० ले पराजित गर्दै एक खेल अगावै नकआउट चरण प्रवेशबाट अर्को चरणमा प्रवेश गरेको हो । ब्राजिलको जितमा खेलको ४४आँै मिनेटमा एन्ड्रेसा आल्भेसले निर्णायक गोल गरिन् ।
निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा १३औँ मिनेटमा स्पेनले अग्रता लिने मौका गुमाएको थियो । खेलमा स्पेनका कप्तान भेरोनिका बक्युटले गोलका थुप्रै मौका गुमाएकी थिइन् । ब्राजिलले पनि पाएका केही सुन्दर अवसरलाई गोलमा परिणत गर्न नसक्दा पहिलो हाफमा आल्भेसले गरेको गोल नै निर्णायक बन्यो । जितसँगै समूह ‘इ’ मा रहेको ब्राजिल ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ ।
यस्तै शनिबार राती नै भएको खेलमा इंग्ल्यान्डले मेक्सिकोलाई २–१ गोलले पराजित गरेको छ । इंग्ल्यान्डको जितमा खेलको ७१औँ मिनेटमा किर्वी र ८२औँ मिनेटमा कारनीले गोल गरिन् । मेक्सिकोका तर्पबाट भने दोश्रो हाफको इन्जुरी समयमा इबाराले एक मात्र सान्त्वना गोल फर्काइन् । यस्तै कोलम्बियाले फ्रान्सलाई २–० ले पराजित गर्न सफल भएको छ । कोलम्बियाको जितमा एन्ड्रेड र उस्मेले गोल गरिन् । एसियाली राष्ट्र दक्षिण कोरियाले कोस्टारिकासँग दुई–दुई गोलको बराबरी खेल्दै अंक बाँड्यो ।
१७औँ मिनेटमा हेर्राको गोलमार्पत कोस्टारिकाले सुरुआती अग्रता लिएको थियो तर कोस्टारिकाको अग्रता चार मिनेट पनि टिकेन । २१औँ मिनेटमा जि सोयुनले पेनाल्टीमार्पत गोल गर्दै खेल बराबरीमा ल्याइन् । २५औँ मिनेटमा जोन गायुलले गोल गर्दै कोरियालाई २–१ गोलको अग्रता दिलाइन् । जिततर्प उन्मुख खेलको अन्तिम समयमा कोरिया सम्हालिन नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य बन्यो । कोस्टारिकाकी भिलालोवोसले गोल गर्दै सम्भावित हार टारेका थिए । (एजेन्सी)
प्रतिक्रिया