विष–वृक्षको जरो

डा. सीके राउतजीले नेपाली महिलामाथि तुच्छ शब्द प्रयोग गरिरहेका थिए । नेपाली, आमा, दिदीबहिनीहरू प्रति घीनलाग्दा शब्दले दुत्कारिरहेका थिए । पहाडेप्रति घृणा, विद्वेष र दुर्भावना फैलाइरहेका थिए र ‘तराई टुक्य्राइदिन्छु’ भनेर राष्ट्रलाई धम्क्याइरहेका थिए । डलर, युरोबाट पालितपोषित केही आइएनजीओका महानायकहरू सीके राउतको पक्षमा बोलिरहेका देख्नासाथै पश्चिमाहरूको सपोर्ट रहेछ भनेर सबैले अनुमान गरिसकेका थिए । चार दिनअघि कृष्ण पहाडीले ‘एम्नेस्टी इन्टर्नेसनलले सीके राउतलाई अप्रत्यक्ष सपोर्ट गरिरहेको बुझेपछि त्यस संस्थाबाट अलग्गिएँ’ भनेर आफू अलग्गिएको घोषणा गरे ।
कृष्ण पहाडीलाई सबैले मानवअधिकार अभियन्ता भनेर चिन्छन् । उनले सन् १९९१ देखि १९९६ सम्म एम्नेस्टी, नेपाल च्याप्टरको नेतृत्व गरेका थिए । उनकै प्रयासमा एम्नेस्टी, नेपाल शाखाले मान्यता पाएको थियो । उनी मानवअधिकार तथा शान्ति समाजको संस्थापक छन् । मावअधिकार तथा शान्ति समाजले विदेशी दानदातव्य, सहयोग लिन नपाउने नियम मात्र बनाएनन् कडाइका साथ लागुसमेत गराए । उनले सात वर्षअघि ‘नागरिक समाज’बाट अलग्गिएको घोषणा गरेका थिए । नागरिक समाजबाट अलग्गिनुको कारण उनले सार्वजनिक नगरे पनि नागरिक समाजले गुपचुप तवरले, भित्रभित्रै विदेशी राष्ट्र र आइएनजिओबाट रकम प्राप्त गरिरहेको बुझिएपछि आफूलाई अलग्याएका रहेछन् भनेर पछि थाहा भयो । कृष्ण पहाडीलाई जति मानवअधिकारवादी भनेर चिन्छन् त्यत्तिकै उनलाई अहिंसावादी, संघर्षशील र त्यागी भनेर पनि चिन्छन् । एम्नेस्टीले सीके राउतलाई अप्रत्यक्ष सहयोग गरिरहेको प्रस्ट भएपछि चार दिनअघि त्यस संस्थाबाट अलग्गिएको घोषणा गरेका हुन् ।
निकै ठूला–ठूला आदर्श छाँट्ने यी अन्तर्राष्ट्रिय संस्था, विदेशी राष्ट्र र आइएनजिओहरू नै हाम्रो जस्तो पिछडिएको देशभित्र घुसेर आफ्नो स्वार्थका लागि भित्रभित्रै धेरै खेल खेलिरहेका हुन्छन् । श्रीलंकामा तमिलहरूलाई सुरुमा भारतले उकास्यो र पछि नर्वेले हावा भर्‍यो । जब उकास्ने र हावा भर्नेहरू पछि हटे र हटाइए तब तमिलहरूको टेक्ने समाउने ठाउँ कहीँ बाँकी रहेन । २०७० जेठको तेस्रो हप्तामा भएको राजदूतहरूको जमघटमा श्रीलंकाली राजदूत थोपासाला हेवागेले भनेका थिए, ‘एकातिर नर्वेजीयनहरू सरकार र तमिलका बीचमा मध्यस्थता गरिरहेका देखिन्थे भने अर्काेतिर नर्वेबाटै अत्याधुनिक हतियार तमिलहरूलाई सप्लाइ भइरहेको थियो । यो थाहा भएपछि यी आइएनजिओ र विदेशीका गतिविधिप्रति हामी धेरै सतर्क भयौँ ।’ विदेशीहरूले यसैगरी उकासेर रुवान्डामा सन् १९९४ मा गराएको जातीय नरसंहारमा एक सय दिनमा आठ लाख मानिस मारिए । ‘रोमन क्याथोलिक क्रिश्चियनहरूले रुवान्डामा जातीय घृणा फैलाएर नरसंहार गराएको’ भनी बेल्जियमको अदालतले जुन ८, २००१ मा फैसला गरेपछि मात्र दुनियाँले तथ्य छर्लंग बुझे । डिएफआइडी, आइडिया इन्टर्नेसनल, डेनिस चर्च, नर्वे, युरोपियन युनियन, डानिडाहरू जहाँ–जहाँ पसेका छन् त्यहाँ सामाजिक सद्भावमा विष घोल्छन् र धार्मिक, जातीय, साम्प्रदायिक विद्वेष फैलाउँछन् । ९० को दशकमा रुवान्डामा प्रवेश गरे र त्यहाँ तुत्सी र हुतु जातिलाई विभाजित गरेर भिडाइदिए । जातीय द्वन्द्व यतिसम्म चर्कियो कि अर्को जातिको छोरीलाई बिहे गर्नेहरूले जातीय निष्ठा जनाउनका लागि पहिला आफ्नै श्रीमतीको हत्या गरे । ‘फस्र्ट गिभ ब्याड नेम, देन किल देम’ भन्ने अंग्रेजी उखानबमोजिम हुतु र तुत्सी एकले अर्कोलाई मान्छे भन्दैनथे, साङ्ला भन्थे । जसरी अहिले नेपालमा वैदिक सनातन धर्मसंस्कृति र बाहुनविरुद्ध विद्वेष बढाइरहेछन् । मानौँ बाहुन भन्ने जाति अपराधी जाति हो, यो जातिलाई समाजले घृणा र तिरस्कार गर्नुपर्छ भनेर दुस्प्रचार गरिरहेछन् । जात–जातमा विभाजित गरेर भिडाउने, अनि आफ्नो स्वार्थ सिद्ध गर्ने ग्य्रान्डडिजाइन धेरै अघिदेखिको र योजनाबद्ध रहेछ भन्ने तथ्य ज्ञानमणि नेपालले तीन वर्षअघि प्रकाशित गरेको ‘गणतन्त्रदेखि लोकतान्त्रिक गणतन्त्रसम्म’ पुस्तकको पेज १६३ मा पुगेपछि खुल्छ । सिआइएको भूतपूर्व वरिष्ठ अधिकृत जोन केनेथ न्याउसले लेखेको आत्मसंस्मरणात्मक कृति ‘शीतयुद्धका टुहुरा अमेरिकी र तिब्बतीहरूको संघर्ष’ पुस्तकबाट ज्ञानमणि नेपालजीले लामै उद्धरण राखेका छन् । जसको सानो अंश यस्तो छ,‘हिमालय पर्वत शृंखलाको फेदीमा बसी जातीय स्वायत्तताको सूत्र प्रतिपादन गरेको हुँ । म दाबाका साथ भन्छु कि नेपाललगायत विश्वमै जातीय मुक्तिको नारा उठाउने पहिलो व्यक्ति म हुँ । त्यसलाई व्यवहारमा प्रयोग गर्ने मेरो संस्था सिआइएलाई म सधैँ धन्यवाद दिइरहने छु ।’ सँगसँगै जोनले ‘कम्युनिस्टहरू सिआइएको यही सूत्र बोकेर हिँडिरहेछन्, यसले मलाई अत्याधिक खुशी दिइरहेछ’ भनेर पनि लेखेका छन् ।
जे होस्, कृष्ण पहाडीले बेलैमा बुझे र आफूलाई अलग्याए । राष्ट्र र समाजका अगुवाहरूले पनि भित्री खेल बुझून् र राष्ट्रलाई जोगाऊन्, हाम्रो यही कामना छ ।

प्रतिक्रिया