जनकपुर र भैरहवा विजयी

चितवन ३० जेठ । चितवन र पोखरामा जारी प्रथम प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा जनकपुर र भैरहवा विजयी भएका छन् ।

चितवनको क्याम्पाचौरमा शुक्रबार भएको खेलमा क्षेत्र नम्बर ७ जनकपुरले क्षेत्र नम्बर ६ बैतडीलाई २६ रनले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित निकाल्न सफल भएको हो ।
जनकपुरले दिएको एक सय रनको लक्ष्य पछ्याएको बैतडीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ७३ रनमात्र बनाउन सक्यो । बैतडीका द्रौपदी कुवँरले २०, अञ्जली चन्दले १५ तथा सम्झना खड्काले १३ रन बनाउनुबाहेक अन्य ब्याट्सवुमनले जनकपुरको कसिलो बलिङसामु खुलेर खेल्न सकेनन् । मञ्जु बोगटी आठ रनमा शान्ति चौधरीको बलमा विमला मगरले पभेलियनको बाटो देखाइन् ।
आशा शाहीले नटआउट ६ रन जोडिन् । बैतडीका दुई ब्याट्सवुमन शून्य रनमा नै आउट भए । बैतडीलाई सस्तैमा समेट्ने क्रममा शान्ति चौधरीले तीन विकेट हात पारिन् । यस्तै, सन्तोषी चौधरीले दुई तथा सरस्वती चौधरीले एक विकेट आफ्नो नाममा लेखाइन् ।
यसअघि क्याम्पाचौर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको जनकपुरले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ९९ रनको लक्ष्य तयार पारेको थियो । जनकपुरका ४१ बलमा ५० रन पूरा गरेकी शोभा आलेले आक्रामक पारी खेल्दै ५४ बलमा ६९ रनको अर्धशतकीय पारी खेलिन् । सरस्वाती चौधरी आठ रनमा अविजित रहिन् ।
यस्तै, ममता चौधरीलाई सात रनमा अञ्जली चन्दको बलमा मञ्जु बोगटीले क्याच आउट गराइन् । अनुराधा चौधरीलाई ६ रनमा सिर्जना रावलले बोल्ड गराइन् । बैतडीका लागि अञ्जली चन्दले दुई तथा सिर्जना रावल, रेखा रावल र निशा भट्टले समान एक–एक विकेट हात पारिन् । खेलमा अर्धशतकीय पारी खेलेकी जनकपुरकी शोभा आले प्लेयर अफ दि म्याच घोषित भइन् ।
समूह ‘ए’ मा रहेको जनकपुर तीन खेलबाट ६ अंकसहित तालिकाको शीर्षस्थानमा छ भने एक खेल कम खेलेको धनगढी तालिकाको दोस्रो स्थानमा छ ।
यस्तै, शुक्रबारै भएको अर्काे खेलमा क्षेत्र नम्बर ४ भैरहवा विजयी भएको छ । भैरहवाले क्षेत्र नम्बर २ वीरगञ्जलाई ४४ रनले पराजित गरेको हो । भैरहवाले दिएको एक सय ११ रनको लक्ष्य पछ्याएको वीरगञ्ज निर्धारित २० ओभरको खेलमा १७.४ ओभरमै सबै विकेट गुमाउँदै ६६ रनमा समेटियो ।
वीरगञ्जको कुनै पनि ब्याट्सवुमनले दोहोरो अंकको योगफल छुन सकेनन् । निकै खराब सुरुआत गरेको वीरगञ्जका ओपनर दुई ब्याट्सवुमन शून्य रनमा आउट भए ।
धर्मराएको वीरगञ्जको पारी मनीषा चौलागार्इं र अनुपा पुडासैनीले सम्हाल्न खोजे पनि अनुपा व्यक्तिगत ६ रनमा आउट भएपछि वीरगञ्जले भैरहवाको कसिलो बलिङसामु खुलेर खेल्न सकेन । वीरगञ्जलाई सस्तैमा समेट्ने क्रममा सरस्वती पुन एक्लैले चार विकेट लिइन् । यस्तै, इन्दु वर्माले दुई तथा वर्षौं रानामगर र एलिसा क्षेत्रीले समान एक–एक विकेट हात पारिन् । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको भैरहवाले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय १० रन जोडेको थियो । खराब सुरुआत गरे पनि भैरहवाको पारी कप्तान इन्दु वर्मा र सरस्वती पुनले सम्हालिन् ।
इन्दु वर्माले सर्वाधिक २९ तथा सरस्वती पुनले २४ रनको योगदान गरिन् । अन्य ब्याट्सवुमनले दोहोरो अंक छुन सकेनन् । भैरहवाले ३२ रन अतिरिक्त पाएको थियो । वीरगञ्जका पुष्पा अर्यालले तीन विकेट लिइन् । रोपजना अर्यालले दुई विकेट आफ्नो नाममा लेखाइन् । पुजा गिरी र सीता श्रेष्ठले समान एक–एक विकेट लिए । खेलमा चार विकेट लिनुका साथै २४ रनको योगदान गरेकी भैरहवाकी सरस्वती पुन प्लेयर अफ दि म्याच घोषित भइन् ।

प्रतिक्रिया