सदस्य सचिव लामाको बिदाइ

lama-yubrajकाठमाडौं, २९ जेठ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव युवराज लामालाई बिहीबार बिदाइ गरियो ।

नेपाल कराते महासंघ र राखेप परिवारले आयोजना गरेको कार्यक्रममा लामासँगै नियुक्त भएका इन्द्रबहादुर थिङ, मुकुन्दबहादुर पहरी, पहलसिंह घर्तीमगर, कुसुमकुमारी श्रेष्ठ र नम्बर शेर्पा ह्योल्मोको पनि बिदाइ गरियो । त्यस्तै, पदावधि बाँकी रहेका सदस्य देवकुमार लामाले त्यसै कार्यक्रममा पद त्यागको घोषणा गर्दै बिदाइ कार्यक्रममा सहभागी भएका थिए । देव राष्ट्रिय खेल संघको कोटाबाट सदस्यमा नियुक्त भएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव लामाले चारवर्षे कार्यकालमा खेलकुदको विकासमा जेजति काम भए त्यसमा आफू र आफ्नो टिमको प्रयासले मात्र सम्भव नभएको बताउँदै त्यसमा राष्ट्रिय खेल संघ, कर्मचारी, प्रशिक्षक, खेलाडी, मिडियालगायतको सहयोगले सम्भव भएको बताए । सदस्य–सचिव लामाले खेलकुदमा नेतृत्व गर्न आउने कुनै दल वा व्यक्ति विशेषको झगडाका कारण खेलकुदको विकासमा बाधा नहुनुपर्नेमा जोड दिए ।
राखेपका पूर्वउपाध्यक्ष पीताम्बर तिम्सिनाले सदस्य–सचिव लामाले खेलकुद विकासको एजेन्डामा फरक दलका आफ्ना टिमका सदस्यलाई कहिल्यै निषेध नगरेको स्मरण गर्दै सदस्य–सचिव लामाले प्रदर्शन गरेको खुबी र क्षमताको सरकारले कदर गर्नुपर्ने धारणा व्यक्त गरे ।
नेपाल भलिबल संघका अध्यक्ष दानबहादुर तामाङले अब आउने नेतृत्वले सदस्य–सचिव लामाले बनाइदिएको गरेटोको दायाँबायाँ नलागी खेलकुदको विकासमा लागे राम्रो हुने विचार व्यक्त गरे ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक विष्टले सदस्य–सचिव लामाको कार्यकालमा खेलाडीलाई उत्साहित र पुरस्कृत गर्ने थुप्रै काम भएको बताउँदै खेलाडीको हकहितका लागि सदैव सकारात्मक पाएको अनुभव सुनाए ।
राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले कर्मचारीको पक्षमा सदस्य–सचिव लामाको सोच सकारात्मक भएको बताए ।
सदस्य–सचिव लामाले मन्तव्य दिनुअघि आफ्नो चारवर्षे कार्यकालमा भए÷गरेका कामका साथै खेलकुदको विकासमा आगामी दिनमा गर्नुपर्ने कामको योजनासहित प्रतिवेदन नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई हस्तान्तरण गर्ने गरी पीताम्बर तिम्सिनालाई तथा राखेप संरक्षक एवं प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्ने गरी नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनलाई प्रदान गरेका थिए ।

प्रतिक्रिया