विश्वका फुटबल स्टारहरू चिलीमा

स्यान्टियागो । कोपा अमेरिका फुटबल अमेरिकी महादेशको सबैभन्दा ठूलो फुटबल प्रतियोगिताको रूपमा लिने गरिन्छ । विश्व फुटबलको पावर हावसका रूपमा स्थापित देशहरूले कोपा अमेरिका फुटबल चिलीमा शुक्रबार बिहानदेखि खेल्नेछन् ।
यस प्रतियोगितामा दक्षिण अमेरिकाका १० र आमन्त्रित दुई गरी १२ राष्ट्र सहभागी छन् । प्रतियोगितामा सहभागी राष्ट्रहरूलाई तीन समूहमा विभाजन गरिएको छ ।
प्रतियोगिताको समूह ‘ए’मा आयोजक चिलीसहित मेक्सिको, इक्वेडर र बोलिभिया छन् । यस्तै, समूह ‘बी’मा अर्जेन्टिना, साविक विजेता उरुग्वे, पाराग्वे र जमैका छन् भने समूह ‘सी’मा ब्राजिल, कोलम्बिया, पेरु र भेनेजुएला छन् ।
विश्व फुटबलका पावर हाउसहरू ब्राजिल, अर्जेन्टिना, उरुग्वेलगायत राष्ट्रको जमघट हुने कोपा अमेरिका विश्वकपको महत्वपूर्ण अंशका रूपमा लिने गरिन्छ । त्यसपछि युरोपियन देशहरूमा विश्वकपपछि युरोकप सबैभन्दा लोकप्रिय प्रतियोगिताका रूपमा लिइन्छ ।
यस कोपा अमेरिका फुटबलमा विश्व ठुला स्टार खेलाडीहरू आमनेसामने हुनेछन् । वर्तमान विश्व फुटबलका उत्कृष्ट खेलाडीहरू लियोनल मेसी, लुइस सुवारेज, नेइमार, अलेक्सिस सान्चेज, जेम्स रोड्रिग्वेज एकअर्काविरुद्ध उत्रनेछन् ।
त्यसैले पनि होला फुटबल समर्थकका लागि कोपा अमेरिकाको यो संस्करण बहुप्रतिक्षित र आकर्षक बनेको छ ।
प्रतियोगिताको यो संस्करणमा लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना, ब्राजिल र साविक विजेता उरुग्वेलाई मुख्य दाबेदारको रूपमा हेरिएको छ । (एजेन्सी )

प्रतिक्रिया