शिक्षाबाटै राष्ट्रोन्नति

भूकम्पप्रभावित क्षेत्रमा सर्वसाधारणका आवास र विद्यालय भवनहरू आपत्कालीन प्राथमिकताको सूचीमा छन् । विद्यालय भवनहरू धेरै ध्वस्त छन्, नभए पनि धराप बनेका छन् । यस्तो अवस्थामा शिक्षामन्त्री चित्रलेखा यादवजीले ‘तुरुन्त विद्यालय सञ्चालन गर्नु’ भनेर ठाडो आदेश जारी गरिदिनुभयो र आफूचाहिँ विदेश भ्रमणमा हिँडिदिनुभयो । ‘यस्तो अवस्थामा विदेश सयर गर्नुहुँदैन’ भनेर प्रधानमन्त्रीले सम्झाउनुभएको रहेछ । प्रमले सम्झाउँदासमेत नमानी अटेर गरेर हिँडिदिनुभएछ । गाउँबस्तीका प्रधानाध्यापकहरूले धेरै ठूलो माग गरेका थिएनन् । ‘जस्तापाताको छानो हालेर टहरो मात्र बनाउन पाए हुन्थ्यो’ भनेका थिए । उहाँहरूको यही सामान्य मागसमेत सुनिदिने कोही भएनछ । चित्रलेखाजी त देशभन्दा विदेशै बढी रुचाउने भएकाले आधाभन्दा बढी समय उहाँको विदेश सयरमै बितिराखेको थियो । यसअघि सामान्य परिस्थिति भएकाले यसलाई त्यति खोजीको विषय बनाइएन । मानवीय संवेदना भएको कुनै पनि शिक्षामन्त्रीले भयंकर विपत्ति र महासंकटमा परेका हजारौँ विद्यालयका शिक्षक र विद्यार्थीलाई अलपत्र छाडेर आफू विदेश सयर गरी बस्दैन । यस्तै जिम्मेवारीबोध नभएका, कर्तव्यच्यूत अगुवाहरूकै कारणले मात्र यो राष्ट्रले दु:ख पाएको हो भन्ने निष्कर्षमा द्विविधा रहेन ।
शिक्षामा भएको लगानीलाई मात्र सही सदुपयोग गरिएको भए यो राष्ट्रले धेरै प्रगति गरिसक्थ्यो र समृद्धिमा पुग्थ्यो । उदाहरण खोज्न धेरै टाढा जानुपर्दैन, हाम्रै एसियाको इज्रायललाई हेरे पुग्छ । इज्रायलमा तेल, ग्याँस, खनिजको भन्डार छैन । जमीन उब्जाउ पनि छैन । पानीको स्रोत पनि थोरै छ । प्राकृतिक स्रोत–साधनको हिसाबले विपन्न र अभावको राष्ट्र इजरायलको राष्ट्रिय आय लोभलाग्दो छ । इजरायलको प्रतिव्यक्ति वार्षिक आय ७४८७ डलर छ । सवा अर्ब जनसंख्या भएको भारतले भन्दा ८० लाख जनसंख्या भएको इजरायलले धेरै बढी उच्च वैज्ञानिक उत्पादन गरेको छ । विज्ञान र टेक्नोलोजी विषयमा भारतको भन्दा धेरै बढी पिएचडी होल्डरहरू इजरायलमा छन् । पछिल्लो १३ वर्षमा आठ जना इजरायलीले नोबेल पुरस्कार पाएका छन् । सम्पूर्ण अरब राष्ट्रले जति पिएचडी डिग्रीहोल्डर उत्पादन गर्छ त्योभन्दा बढी इजरायल एक्लैले उत्पादन गर्छ । अमेरिकाको टेक्नोलोजी स्टक एक्स्चेन्ज (नास्डाक) मा अमेरिका र चीनपछि सर्वाधिक इजरायलकै कम्पनी सूचीकृत छन् । गुगल, एप्पल, इन्टेल र एचपी जस्ता विश्वकै ठूला टेक्नोलोजी कम्पनीले आफ्नो अनुसन्धानकेन्द्र इजरायलमा राखेका छन् ।
जब इजरायल देश बन्यो त्यहीबेला उनीहरूले देखे, हामीसँग प्राकृतिक स्रोत त केही पनि छैन, मात्र केही लाख नागरिक छन् । देशका नागरिकलाई नै संशाधनको रूपमा प्रयोग गर्ने परिकल्पना गरे । योजना बनाए । उनीहरूले अरू केही गरेनन्, मात्र गुणात्मक शिक्षाको बन्दोबस्त गरे । त्यसैमा फोकस भएर काम गरे । उच्चकोटिका वैज्ञानिक र टेक्नोलोजिस्टहरू उत्पादन गरे । तिनै उच्चकोटिका वैज्ञानिक, टेक्नोलोजिस्ट र प्राविधिज्ञहरूले नै राष्ट्रको विकास गरिदिए । इजरायललाई समृद्धिको उच्च शिखरमा पुर्‍याइदिए । उब्जाउ जमिन छैन, पानीको स्रोत न्यून छ । तैपनि, उच्च प्रविधिलाई प्रयोग गरेर नमुनाकै कृषि उत्पादन गरे । आफूसँग भएको साधनस्रोतलाई उच्चतम् प्रयोग गरेर इजरायलले सबैलाई उछिनेर देखायो । हामी भने प्रचूर प्राकृतिक स्रोत र यथेष्ठ सम्भावना भएर पनि पछाडि, कुनामा, अझ पिँधैमा पिल्सिएर बसिरहेछौँ । प्रकृतिले वञ्चित गरेकाले होइन, जनता खराब भएकाले पनि होइन, हाम्रा राजनीतिक नेता र शासकहरू आत्मकेन्द्रित, स्वार्थी, धूर्त र भ्रष्ट भएकाले मात्र यो सुन्दर राष्ट्रले दु:ख पाएको हो भन्नमा हिच्किचाउनुपर्दैन ।
अगुवाहरू भ्रष्ट भएकै कारणले शिक्षा जस्तो पवित्र क्षेत्रमा व्यापक भ्रष्टाचार छ । दुई वर्षअघि पर्सादेखि सप्तरीसम्म तराईका जिल्लामा सर्वेक्षण गर्दा असंख्य झोले विद्यालय भेटिए । ती विद्यालयले दशौँ वर्षदेखि अर्बाैं रकम झ्वाम पारेका रहेछन् । अगुवाहरू नै बिग्रेपछि र मियो हल्लिएपछि यो परिणामलाई स्वाभाविक ठान्नुपर्छ । यस्ता अगुवा, नायकहरूलाई राष्ट्र जिम्मा लगाएर ढुक्क भई बस्ने जनताले पनि पुनर्विचार गर्नुपर्ने बेला आइसकेको छ ।

प्रतिक्रिया