काठमाडौं, २८ जेठ । नेपालका अल्ट्रा म्याराथन धावक समीर तामाङ रामेछापको प्रीति गाविसमा नवनिर्माणमा जुटेका छन् । नेपाल र अन्तर्राष्ट्रिय स्तरका उम्दा धावकका रूपमा स्थापित समीर आफ्नो गाउँमा शिक्षा, खाद्यन्न र नवनिर्माण लागि विभिन्न क्षेत्रहरूलाई पहल गर्दै जुटेका हुन् । गत वैशाख महिनामा गएको भूकम्पका कारण प्रीतिमा धेरै घर पूर्णरूपमा ध्वस्त छन् ।
उनले विभिन्न अन्तर्राष्ट्रिय अल्ट्रा धावक, खेलाडी, खेलकर्मी र साथीसँग नेपाललाई सहयोग गर्न पहल गर्दै रामेछापको आफ्नो क्षेत्रमा विभिन्न प्रक्रियागत रूपमा सहयोग गरेका छन् । उनले त्यस क्षेत्रका भूकम्पपीडितका लागि विभिन्न साथीहरूको सहयोगमा ६ सय बोरा चामल, लत्ताकपडालगायत दैनिक उपभोग्य सामग्रीहरू प्रदान गरेका थिए । साथै, उनले भूकम्पका कारण गम्भीर घाइते भएकी एक महिलाको सम्पूर्ण उपचार खर्चसमेत बेहोरेका छन् ।
नेपाली अल्ट्रा म्याराथनका सफल धावक उनले त्यस क्षेत्रका विद्यालयकालाई केही महिनाका लागि मासिक ३० हजार सहयोग गरेका छन् । धावक समीरले हाल ध्वस्त रहेका घरको पुनर्निर्माण सुरु गरेका छन् । उनको पुनर्निर्माण योजनाअन्तर्गत उनले विभिन्न साथीहरूको सहयोगमा ५० टहरा निर्माण गरिसकेका छन् । धावक समीरले त्यस क्षेत्रमा धेरै घर ध्वस्त भएकाले दुई ७० घरनिर्माणको लक्ष्य रहेको बताए ।
उनी भन्छन्, ‘त्यस क्षेत्रमा प्राकृतिक विपत्तिका कारण शैक्षिक क्षेत्रमा पनि धेरै हानि पुगेको छ । यातायातलगायत सेवासुविधा नपुगेकाले हालसम्म कसैको सहयोग पुगेको छैन । त्यस कारण आपूmले चिनेको साथीभाइहरूको सहयोगमा सहयोग लागि जुटेको छु ।’
उनले आफ्नो क्षेत्रमा प्रक्रियागत रूपमा बाहिरका साथीहरूले गरेको सहयोग र आपूmसँग भएको केही रकम जम्मा गरेर विपत्तिको क्षणको सुरुआती अवस्थामा तीन सय टेन्ट प्रीति पु¥याएका थिए । उनी भन्छन्, ‘लामो समयसम्म बाहिर गेम खेल्दा धेरै खेलाडी साथीहरू थिए, उनीहरूसँग सम्पर्क गरेँ, साथीहरूले पनि सकरात्मक रूपमा लिँदै नेपालमा नै आएर त्यस क्षेत्रमा सहयोग गरे । केही समय अगाडि हङकङका खेलाडी साथीहरू आएका थिए । हाल जर्मनका साथीहरू रामेछापमा सहयोग गरी रहनुभएको छ । अझ पनि केही साथीहरू गाउँमै बसेर केही समय त्यस क्षेत्रका विद्यालयमा शिक्षण गरिरहनुभएको छ ।’ सबैले सहयोगको अपेक्षा गरेर विकासका काम र आफ्नो दैनिकी किसानी काम छोडेकाले खाद्यान्नभन्दा पनि अब पुनर्निर्माणतर्फ जोड दिएको उनी बताउँछन् । सहरी क्षेत्रमा सबै काममा फर्किसके तर धेरै ध्वस्त भएको गाउँतिर अझ पनि मानिस काममा फर्केका छैनन् । अबको समय सबै विकास निर्माणतिर लाग्नुपर्ने उनको सुझाव छ ।
सन् २०१४ मा फ्रान्समा सम्पन्न द नर्थ फेस अल्ट्रा ट्राई म्याराथनमा उनले ७७ देशका एक हजार ५ सय धावकलाई पछि पार्दै १४ घन्टा २५ मिनेट ३३ सेकेन्ड समयमा दौड पूरा गरी दोस्रो भएका थिए । हङकङमा भएको अक्सफाम ट्राइल खुला एक सय किलोमिटर दौड १० घन्टा ५७ मिनेटमा पूरा गरेर उनी दोस्रो भएका हुन् । हङकङको लनटाउमा भएको एक सय किलोमिटरको प्रतियोगितामा सात सय खेलाडीलाई पछि पार्दै उनी पहिलो भएका थिए । उपाधि जित्ने क्रममा तामाङले जेरमी रिठेको नाममा रहेको कीर्तिमानलाई भंग गर्दै १२ घन्टा २८ मिनेट समय खर्चेर आफ्नो नाममा नयाँ कीर्तिमान बनाए । रिठेको नाममा १२ घन्टा ४० मिनेटको कीर्तिमान कायम थियो ।
विश्वकै सर्वोत्कृष्ट खेलाडीले भाग लिने द अल्ट्राइल माउन्ट ब्लाङको एक सय १९ किलोमिटर अल्ट्रा म्याराथनमा समेत तामाङले भाग लिएका छन् ।
प्रतिक्रिया