नयाँ दिल्ली, २६ जेठ । भारतीय राजधानी नयाँ दिल्ली राज्यका कानुनमन्त्री आफ्नो विश्वविद्यालय डिग्रीका रुपमा पेस गरेको प्रमाणपत्र नक्कली पाइएको आरोपमा पक्राउ परेका छन् ।
नयाँ दिल्ली राज्यका कानुनमन्त्री जीतेन्द्र सिंह तोमरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
उनले प्रस्तुत गरेको आफ्नो शैक्षिक प्रमाणपत्र नक्कली रहेको प्रहरीको दाबी छ ।
मन्त्री तोमरको आफ्नो प्रमाणपत्र नक्कली पाइएको भन्दै केही समयदेखि अनुसन्धान जारी रहेको थियो । सोही प्रमाणका आधारमा प्रहरीले सोमबार राति नै उनलाई नियन्त्रणमा लिएको बताइएको छ ।
प्रहरी स्रोतले भनेको छ, ‘दिल्लीका कानुनमन्त्रीले आफूले नयाँ दिल्लीको निर्वाचनमा उम्मेदवार बन्ने क्रममा पेस गरेको प्रमाणपत्र नक्कली पाइएको छ त्यसैले उनलाई पक्राउ गरिएको छ ।’
उनलाई मङ्गलबार नै अदातलसमक्ष पेस गरिने जानकारी पनि सो प्रहरी स्रोतले दिएको समाचारमा जनाइएको छ ।
उनी आम आदमी पार्टीका नेता हुन् । भ्रष्टाचार विरोधी अभियानका एक अभियन्ताका रुपमा पनि उनले काम गरेका थिए ।
दिल्लीमा यसअघि अर्का एक अधिकारीलाई पनि उनले आफ्नो नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा पक्राउ गरिएको केही दिनमात्र पछि यो अर्काे नक्कली प्रमाणपत्रका आधारमा पक्राउ गरिएको समाचार आएको जनाइएको छ ।
दिल्लीको निर्वाचनमा उम्मेदवार बन्ने क्रममा मन्त्री तोमरले यो प्रमाणपत्र पेस गरेका थिए ।
पछि उनको सो प्रमाणपत्र नक्कली रहेको भनी दिइएको उजुरीका आधारमा यो अनुसन्धान अघि बढाइएको थियो ।
प्रतिक्रिया