शक्तिशाली भूकम्पले महाविनाश गर्यो, तर दुई विषयलाई धक्का दिएन । एउटा त समाजमा बज्र बनेर रहेको रुढी, अन्धविश्वास र कुरीतिलाई छोएन । अर्को राज्यको भ्रस्टाचार, दण्डहीनता र स्वेच्छाचारितालाई पटक्कै धक्का दिएन ।
१२ वैशाखमा भूकम्प गएलगत्तै भारत चण्डीगढको ‘शिवपार्वती सेवा दल’ संस्थाबाट १४ जनाको टोली आयो । भक्तपुर–११, भद्रकाली मन्दिरछेउमा भेलुखेल बस्तीलाई भूकम्पले सर्वाधिक क्षति पुर्याएको देखे । त्यो बस्तीमा एक सय ३० घरपरिवार रहेछन् । उनीहरूले भूकम्पपीडित परिवारका लागि बिहान र बेलुका खाना खुवाउने व्यवस्था मिलाए । सँगैको आदर्शचोक बस्तीका महर्जन परिवारलाई पनि त्यही भान्छामा खाना खान बोलाए । ससम्मान र प्रेमपूर्वक बोलाएपछि खाना खान यही भातभान्छामा मिसिएलान् भनेको त उल्टो व्यवहार गरे । ‘त्यो भेलुखेल भनेको द्यौलाको बस्ती हो । द्यौलाको भान्छामा हामी खाना खाँदैनौँ । द्यौलाले छोएको त हामी कसैले खाँदैन । त्यसैले, त्यो मेस त्यहाँबाट हटाएर यता आदर्शचोकमा सार्नुहोस्,’ भनेर दबाब दिए । सेवादलले, ‘एक ठाउँमा राखिसकेको मेस त्यसरी सार्दै हिँड्नु हुँदैन’ भनेर सार्न नसकिने बतायो । महर्जनहरूले ‘मेस यता सार्न सकिँदैन भने दुवैतिर मेस राख’ भनेर दबाब दिए । सेवादलले ‘कुकहरू थोरै भएकाले दुई मेस चलाउन सकिँदैन’ भने । महर्जनहरूले ‘त्यसोभए बराबरी दालचामल तरकारी हामीलाई पनि देऊ’ भने । सेवादलले ‘हामी मेस चलाउन आएका हौँ, दालचामल बाँड्न होइन’ भने । महर्जनले ‘बराबरी दालचामल छुट्याइदिँदैनौ भने यो भेलुखेलमा पनि मेस चलाउन दिँदैनौँ’ भने । बाध्य भएर शिवपार्वती सेवादलले आदर्शचोकका महर्जनलाई पुग्ने दालचामल दिनुपर्यो ।
हाम्रो परम्परागत समाजको आधारभूत संरचना र गभर्निङ रुल्सको स्रोत धर्मशास्त्र हो । तर, कुनै पनि धर्मशास्त्रमा मान्छे–मान्छेबीच छूवाछूत र छोइछिटोको विषयमा कहीँ कतै उल्लेख छैन । वेद, उपनिषद्, पुराणलगायत धर्मशास्त्रसँग सम्बन्धित कुनै पनि ग्रन्थमा छूवाछूत र छोइछिटोको प्रसंग छैन । तीव हजार वर्षअघि भारतमा छूवाछूत सुरु भएको प्रसंग फेला पर्छ । त्यही भारतीय समाजकै सिको गरेर यो प्रथा जयस्थिति मल्लले नेपालमा भित्र्याएको अनुमान गरिएको छ । त्यहाँदेखि यो अन्धविश्वासले जरा गाडेको र संस्कार बनेर रहेको देखिन्छ । संस्कार होइन, हाम्रो समाजका लागि यो महारोग नै भएको छ । जुन परम्पराको कुनै सैद्धान्तिक आधार छैन । त्यति मात्र होइन, सामाजिक मूल्यपरम्पराको स्रोत भनिएका धर्मशास्त्रले समेत इन्कार गरेको छ । त्यस्तो घुसपैठिया रूढी र अन्धविश्वासलाई निमिट्यान्न पार्न ठूलै अभियान चलाउन आवश्यक भइसकेको छ ।
भक्तपुर–११, भेलुखेलमा सेवा गर्न आएका भारत, चण्डीगढका ‘शिवपार्वती सेवा दल’ आफैँमा वैदिक सनातनी धर्मपरम्परा मान्ने धार्मिक आस्थाको समूह हो । धार्मिक संस्थाका कार्यकर्ताले बरु दलित भन्ने थाहा पाएर पनि सेवाबाट पछि हटेनन् । तर, हाम्रा अन्नदाता भनिएका महर्जन समुदायले आफ्नै द्यौला दाजुभाइलाई गरेको व्यवहार चिन्ताजनक छ । यो लज्जास्पद मात्र होइन, राष्ट्रिय चिन्ताको विषय हो । लज्जास्पद राष्ट्रिय चिन्ताको विषयमा चर्चा गर्दा ‘बोक्सी’ भनेर लगाइने लाञ्छना र तराईको दाइजोप्रथा पनि डरलाग्दो सामाजिक रोग बनेर रहेको छ । यी सामाजिक महारोगविरुद्ध अभियान चलाउने हो भने छूवाछूतविरुद्ध अभियानको नेतृत्व गाउँसमाजका गुरुपुरोहितहरूले लिनुपर्छ । दाइजोप्रथाविरुद्ध अभियानको नेतृत्व तराईका हुनेखाने, ठूलाठालुहरूले लिनुपर्छ । बोक्सीप्रथाविरुद्ध तराई, पहाडका चेतनशील वर्ग सबै लाग्नुपर्छ । कानुन बनाएर र पुलिस, अड्डा, अदालतको जिम्मा लगाएर मात्र यो अभियान अघि बढ्दैन । यस्ता रुढी, अन्धविश्वास र कुरीतिलाई प्रश्रय दिने व्यक्तिलाई समाज, समुदाय र राज्यले तिरस्कार नगरेसम्म यो रोगको उपचार सम्भव छैन ।
प्रतिक्रिया