बर्लिन २५ जेठ । स्पेनिस क्लब बार्सिलोना यस सिजनको युइएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
शनिबार राति बर्लिनको ओलम्पि स्टेडियममा भएको खेलमा इटालियन क्लब युभेन्टसलाई ३–१ ले पराजित गर्दै बार्सिलोनाले च्याम्पियन्स लिगको उपाधि हात पारेको हो । बार्सिलोनाको यो पाँचौँ च्याम्पियन्स लिग उपाधि हो । च्याम्पियन्स लिगको उपाधि जितेसँगै बार्सिलोनाले एकै सिजन तेहरो उपाधि जित्ने नयाँ कीर्तिमान पनि बनाएको छ । यसअघि बार्सिलोनाले घरेलु लिग र किंग्स कपको उपाधि जितिसकेको थियो । बार्सिलोनालाई च्याम्पियन बनाउन इभान राकिटिक, लुइस स्वारेज र नेइमारले समान एक–एक गोल गरे । चौथो मिनेटमै बार्सिलोनाले युभेन्टसविरुद्व सुरुआती अग्रता बनायो । आन्द्रेस इनिस्टाको चलाखीपूर्ण पासमा कसैको निगरानीमा नरहेका राकिटिकले वान टच प्रहारमै जाली चुमाउँदा गोलरक्षक बुफोनले रोक्ने कुनै मौका नै पाएन । त्यसपछि पनि बार्सिलोनाले लगातार आक्रमण बुनिरह्यो तर इटाली तथा युभेन्टसका भेट्रान गोलरक्षक जियानलुजी बुफोनले खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि पहिलो हाफ १–० मा सकिएको थियो ।
खेलमा अधिकांश समय युभेन्टसका डिफेन्स र गोलरक्षक निकै व्यस्त बन्दा बार्सिलोनाका तीन दक्षिण अमेरिकी स्ट्राइकर मेस्सी, नेइमार र स्वारेजलाई रोक्न डिफेन्डरलाई निकै हम्मे–हम्मे परेको थियो । खेलमा १–० ले पछि परेपछि दोस्रो हाफमा आक्रमक प्रदर्शन गर्दै युभेन्टसले ५५औँ मिनेटमा बराबरी गोल फर्कायो । कार्लोस टेभेजको कडा प्रहार रिवाउन्डमा आएपछि अनमार्क रहेका अल्भेरो मोरटाले क्लोज रेन्जबाट गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याउँदै खेलमा फर्कने संकेत गरे । तर, त्यसपछि बार्सिलोनाले थप दुई गोल गर्दा मोराटाको गोल सान्त्वनामा सीमित बन्न पुग्यो । मोरटाले सेमिफाइनलको दुवै लेगमा पनि गोल गरेका थिए । ६८औँ मिनेटमा मेस्सीले डि एरियाभित्रबाट गरेको प्रहारलाई बुफोनले उत्कृष्ट बचाउ गरे पनि रिवाउन्ड बलमा स्वारेजले गोल गरेपछि बार्सिलोनाले खेलमा फेरि २–१ को अग्रता बनायो । ७२औँ मिनेटमा नेयमारले हेडमार्फत् गोल गरे पनि पनि रेफ्रीले त्यसलाई गोलको मान्यता दिएनन् । नेइमारको हेड हातमा लाग्दै जाली चुमेको थियो ।
खेलको इन्जुरी समयमा काउन्टर एट्याकमा अफसाइड विट मार्दै नेइमारले गोल गर्दै टोलीको जित पक्का गरे । यसअघि डेनी आल्भेसले पनि गोल गर्ने मौका चुकाएका थिए । यस सिजन तेहोरो जितको कीर्तिमान बनाउने तथा तेस्रोपटक नै च्याम्पिउन्स लिग जित्ने अभियानमा रहेको युभेन्टसले बार्सिलोनामाथि थुप्रै गोलका अवसर सिर्जना गरे पनि पाएका अवसरलाई गोलमा परिणत गर्न नसक्दा तेहरो उपाधि जित्न असफल बन्यो । युभेन्टस्ले पनि घरेलु लिग र कोपा इटालीको उपाधि जितिसकेको थियो । पराजित भएसँगै युभेन्टस फाइनलमा ६ पटक पराजित हुने पहिलो टोली बनेको छ । बार्सिलोना भने फाइनलमा पाँचपटक सफल बनेको छ ।
प्रतिक्रिया