चीनमा डुबेको जहाजमा तीन सय नब्बेभन्दा बढी व्यक्तिको मृत्यु

Chinजियान्ली (चीन), २३ जेठ । चीनमा पर्यटकीय क्रुज जहाज ‘इस्टर्न स्टार’ डुब्दा कुल ३९६ व्यक्तको मृत्यु भएको पुष्टि भएको सिन्ह्वा समाचार संस्थाले उल्लेख गरेको छ । यसका कारण यो चीनमा करिब ७० वर्षमा भएको सबैभन्दा नराम्रो जहाज दुर्घटना बनेको छ ।

याङजे नदीमा सोमबार आँधीका कारण डुबेको उक्त जहाजमा रहेका ४५६ व्यक्तिमध्ये १४ मात्र जीवित रहन सक्षम भएको बताइएको छ । जहाजमा रहेका व्यक्ति प्रायः ६० वर्ष माथिका पर्यटक भएको जानकारी दिइएको छ ।

शुक्रबार उद्धारकर्ताहरूले उक्त जहाजलाई माथि उठाएपछि र जहाजभित्र रहेका शव फेला पर्न थालेपछि मृतकको सङ्ख्या २०० बढेको हो ।

सिन्ह्वा समाचार संस्थाले मध्यान्हमा उक्त जहाजमा मर्नेको सङ्ख्या ३९६ पुगेको जानकारी दिएको छ । सन् १९४८ मा एसएस कियाङ्ग्या साङ्घाइ नगर नजिकै डुब्दा उक्त जहाजमा रहेका कम्तीमा चार हजार यात्रुको मृत्यु भएको थियो । वर्तमान दुर्घटना त्यसपछिको सबैभन्दा नराम्रो दुर्घटना बनेको छ ।

हालसम्म पनि ४६ व्यक्ति हराइरहेको देखिएको छ । बिहीबार सरकारी प्रवक्ताले अब बाँकी व्यक्तिलाई जीवित रूपमा फेला पर्न नसकिने अनुमान गरेका थिए ।

उद्धारकर्ताहरूले उक्त जहाजलाई शुक्रबार माथि ल्याउन निकै ठूलो क्रेन प्रयोग गरेका थिए ।

प्रत्यक्षदर्शीले ७६.५ मिटर लामो तथा दुई हजार २०० टनको उक्त जहाज एक मिनेटमै डुबेको जानकारी दिए भनी समाचारमा उल्लेख गरिएको छ भने अधिकारीहरूले आँधीका कारण उक्त दर्घटना भएको जानकारी दिएका छन् ।

नानजिङ सामुद्रिक केन्दले दुई वर्ष अगाडि उक्त जहाजले सुरक्षा व्यवस्था तोडेको उल्लेख गरेको थियो भने अनुसन्धानकर्ताहरूले उक्त जहाजको संरचनामा अनुसन्धान गर्ने भएको सीसीटीभीले जानकारी दिएको छ ।

प्रतिक्रिया