घरेलु टोली रुपन्देही उपाधिनजिक

बुटवल, २३ जेठ । बुटवलमा जारी १८औँ तिलोत्तमा गोल्डकपमा दार्जिलिङ–११ लाई फराकिलो अन्तरले पराजित गर्दै आयोजक सोना रुपन्देही–११ तिलोत्तमा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार एन्फा टेक्निकल सेन्टरमा पहिलो सेमिफाइनलमा दार्जिलिङलाई ५–२ गोलको फराकिलो अन्तरले पराजित गर्दै रुपन्देही उपाधी नजिक पुगेको हो ।
घरेलु टोली रुपन्देहीले पाहुना टोलीविरुद्व निकै उच्च प्रदर्शन गरेको थियो । फराकिलो जित निकाल्ने क्रममा रुपन्देहीका दीपक राईले ह्याट्रिक पूरा गरे । ‘ए’ डिभिजनका विभिन्न क्लबमा आवद्ध खेलाडीलाई मैदानमा उतारेको घरेलु टिम रुपन्देहीले खेलको १६औँ मिनेटमा अग्रता बनायो । विमल घर्तीमगरलाई फल गरेपछि पाएको पेनाल्टीलाई पुकार गहतराजले गोल गर्दै टोलीलाई अग्रता दिलाए । लगत्तै दार्जिलिङले सम्हालिन नपाउँदै अर्काे गोल खान पुग्यो । २०आँ मिनेटमा दीपक राईले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । खेलको ३५औँ मिनेटमा दार्जिलिङले अग्रता कम बनायो । उसका एभोन राईले गोल गर्दै खेल २–१ मा ल्याएका थिए । तर, ४२आँै मिनेटमा विमल घर्तीमगरले गोल गरेपछि पहिलो हाफमा रुपन्देही ३–१ गोल अन्तरले अघि रह्यो ।
दोस्रो हाफमा दीपक चम्किएको खेलमा रुपन्देहीले दुई गोल गर्दा एक गोल खाएको थियो । खेलको ५४औँ मिनेटमा दोस्रो गोल गरेको दीपकले ५९औँ मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे । दीपकको ह्याट्रिक प्रतियोगिताकै पहिलो ह्याट्रिक हो । त्यसपछि खेलको ७५आँै मिनेटमा भाइचोङ राईले गोल गरे पनि दार्जिलिङ खेलमा फर्कन नसक्दा सेमिफाइनलबाट बाहिरिन पुग्यो । खेलमा रुपन्देहीका विमल घर्तीमगर म्यान अफ दि म्याच घोषित भए ।
अब उपाधिका लागि रुपन्देहीले शनिबार झापा–११ र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ । भूकम्पपीडितका लागि सहयोग जुटाउने लक्ष्यसहित रूपन्देही जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताको विजेताले ट्रफीसहित तीन लाख ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया