काठमाडौं, २१ जेठ । कराते प्रशिक्षक एवं आठौं दक्षिण एसियाली खेलकुदका स्वर्ण पदकधारी गंगाराम महर्जन काँधमा चोट लागि घाइते भएका छन् । नेपाल लोकतान्त्रिक खेलकुद संघको अगुवाईमा १२ वैशाखमा गएको भूकम्पका कारण क्षति भई दुर्घटनाग्रस्त घर व्यवस्थित गर्ने क्रममा ललितपुरको लुभुमा काम गरिरहेको अवस्थामा घरको चौथो तल्लामा रहेको काठ खस्दा उनको काँधमा चोट लाग्न पुगेको थियो । ललितपुरस्थित बी एन्ड बी अस्पतालका चिकित्सकको भनाइअनुसार उनको काँधको ब्युटी बोन भाँचिएको र शल्यक्रिया गरी स्टिल हाल्नुपर्ने भएको छ ।
नेपाल लोकतान्त्रिक खेलकुद संघको अगुवाइमा विगत दुई हप्तादेखि दुर्घटनाग्रस्त घर व्यवस्थित गर्ने क्रममा प्रशिक्षक महर्जनले काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको गाम्चा, धर्मस्थली ललितपुरको खोकना र लुभुमा सक्रिय सहभागिता जनाउँदै आइरहेका थिए ।
उनी नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय सदस्य, राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका उपाध्यक्ष एवं नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिका सदस्य समेत रहेका छन् । (सौस)
प्रतिक्रिया