बुटवल, २० जेठ । विभागीय क्लब त्रिभुवन आर्मी क्लब बुटवलमा जारि १८औँ तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।एन्फा टेक्निकल सेन्टर मैदान च्यासलमा मंगलबार भएको खेलमा विभागीय क्लब त्रिभुवन आर्मी क्लबले धरान फुटबल क्लबलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठले दुई तथा जितेन्द्र कार्की र टंक बस्नेतले समान एक–एक गोल गरे ।
सुरुआतबाटै आक्रमक रणनीति अपनाएको आर्मीले खेलको पाँचौ मिनेटमा अग्रता बनायो । आर्मीका लागि जितेन्द्र कार्कीले थ्रु बलमा गोल गरेका थिए । धरानमाथि एकपछि अर्काे आक्रमण बुनेको आर्मीले खेलको ३६औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै अग्रता दोब्बर बनायो । दोस्रो हाफमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आर्मीले थप दुई गोल गर्न सफल भयो । त्यस्तै खेलको ७०औँ मिनेटमा नवयुग श्रेष्ठले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । खेलको ७८औँ मिनेटमा टंक बस्नेतले गोल गर्दै धरानमाथि ४–० को फराकिलो जित निकाल्न सफल भयो । धरानले भने शारीरिक रूपमा बलियो आर्मीमाथि कुनै पनि समय दबाब दिन सकेन । (सौस)
प्रतिक्रिया