काठमाडौं, १९ जेठ । भैरहवाको सिद्धार्थ नगरपालिकाको खजहनामा सिद्धार्थ क्रिकेट रंगशालाको दोस्रो चरणको कार्य सुरु भएको छ । अन्तर्राष्ट्रिय स्तरको स्टेडियम अबको पाँच वर्षभित्र सम्पन्न हुने निर्माण समितिको योजना रहेको छ । रंगशालाको कुल बजेट चार करोड रुपैयाँ रहेको छ ।
सिद्धार्थ क्रिकेट रंगशालाको शिल्यान्यास २०६८ सालमा भए पनि क्रिकेट संघको विवादले रोकिएको थियो । रुपन्देही जिल्ला क्रिकेट संघका अध्यक्ष प्रशान्त मल्लले निर्माण कार्य सहज रूपमा अगाडि बढ्नसके पाँच वर्ष भित्रमा अन्तर्राष्ट्रिय स्तरको मैदान निर्माण हुने जानकारी दिए । तत्कालीन समयमा रंगशालाको शिल्यान्यास राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामा र क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डले गरेका थिए ।
क्रिकेटको राम्रो सम्भावना बोकेको भैरहवाको सिद्धार्थ नगरपालिकामा करिब ६ बिघा क्षेत्रफलमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण हुनेछ । पहिलो चरणमा संघको कार्यालय, ड्रेसिङ रुम, फिटनेस सेन्टरलगायत विभिन्न भौतिक संरचना निर्माण भएका थिए । पहिलो चरणमा एक करोड १९ लाखको लागतमा रंगशाला निर्माण भएको थियो । राष्ट्रिय खेलकुद परिषद्ले आह्वान गरेको टेन्डरमा पहिलो चरणमा रायमाझी कन्स्ट्रक्सनले निर्माण सम्पन्न गर्यो ।
स्थानीय मैदानलाई स्तरन्नोति गरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गरे पनि दोस्रो चरणको निर्माण कार्य तीन वर्ष बित्दा पनि बजेटको अभावका कारण र नेपाल क्रिकेट संघ (क्यान) भित्रको आपसी द्वन्द्वको कारण रोकियो । क्यानमा विवाद नभएको भए यो वर्ष रंगशालामा तेस्रो चरणको कार्य सम्पन्न हुने थियो । गतवर्ष मात्र क्यानमा भ्रष्टाचारको घटना बाहिर आएपछि करिब एक करोड बजेट क्यानमा नै फ्रिज भएर बसेको थियो । हाल राखेपबाट केही बजेट पुनः निकासा भएपछि दोस्रो चरणको निर्माण सुरु भएको हो ।
रंगशालामा दोस्रो चरणमा माटो राख्ने, मैदान सम्याउने र घाँस रोप्ने कार्य चलिरहेको छ । दोस्रो चरणमा ८० लाख लागतमा काम तीव्र गतिमा सञ्चालन भएको संघका अध्यक्ष मल्लले बताए । दोस्रो चरणमा बिएनसी कन्स्ट्रक्सनले राखेपको टेन्डरअन्तर्गत रहेर निर्माण कार्य गरेको छ । मल्लले केहीसमय बजेट अभाव भए पनि हालसम्म २५ प्रतिशत काम सम्पन्न भइसकेको बताए । अगामी बजेटका लागि दोस्रो चरणको काम असारभित्र सम्पन्न गर्ने क्षेत्रीय कोषाध्यक्ष सत्यजित सरकार बताउँछन् ।
हालसम्म रंगशाला निर्माणका लागि राखेपबाट एक करोड ८९ लाख निकास भइसकेको छ । तेस्रो चरणमा पिच, पर्खाल, मैदान बाहिरको केही साना संरचना निर्माण हुनेछ । केही बजेट बाँकी रहे अर्को वर्ष क्रिकेट मैदानलाई सुरक्षित बनाउन पर्खाल लगाउने र पिच निर्माणको काम सुरु गर्ने योजना निर्माण समितिले जनाएको छ । यसका लागि अनुमानित बजेट करिब एक करोड लागत लाग्ने अनुमान गरिएको छ । तथापि पर्खाल र फिनिसिङका लागि पनि बजेट आवश्यक पर्ने संघले जनायो ।
अध्यक्ष मल्लले दीर्घकालीन योजनाअन्तर्गत प्याराफिट र कार्पेटिङलगायत संरचना निर्माण गर्ने लक्ष्य रहेको बताए । तर, मल्लले धेरै ठाउँमा रंगशाला निर्माण कार्य सुरु गरिएको भएकाले प्याराफिट निर्माणमा केही समय ढिला हुनसक्ने बताए । अध्यक्ष मल्लले आइसिसीको नियमअनुसार अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताका लागि पाँच तारे होटल र अन्तर्राष्ट्रिय हवाई उडान आवश्यक रहे पनि अबको दुई वर्षभित्र सबै पूर्वाधार सम्पन्न हुने बताए ।
‘भैरहवामा अन्तर्राष्ट्रिय स्तरको मैदान सम्पन्न भएको खण्डमा स्थानीय स्तरका धेरै प्रतिभावान खेलाडीहरू बाहिर आउने थिए ।’ अध्यक्ष मल्ल बताउँछन् । त्यस क्षेत्रबाट यसअघि पनि राष्ट्रिय टिममा राजु खड्का, वसन्त रेग्मी, शक्ति गौचन, अमृत भट्टराई, राहुल विश्वकर्मा र सागर पुनले सहभागिता जनाइसकेका छन् । यू–१९ मा शौरभ खनाल, सन्दिप सुनार र शंकर राणा जस्ता प्रतिभावान खेलाडीहरू आइसकेका छन् ।
नेपालमा करिब ४० जिल्लामा क्रिकेट खेल्ने गरिन्छ । त्यसमध्ये २० जिल्ला तराई क्षेत्रअन्तर्गत रहेको छ । त्यसअन्तर्गत भैरहवामा पनि क्रिकेट खेलको राम्रो क्रेज रहे पनि गुणस्तरीय क्रिकेट मैदानको अभावमा हालसम्म राम्रो प्रतियोगिता हुन सकेका छैनन् । भैरहवामा भारतबाट केही खेलाडी स्थानीय क्लबमा खेल्न आउने र त्यहाँका खेलाडीहरू पनि भारत जाने भएकाले त्यस क्षेत्रले क्रिकेट विकासमा राम्रो सम्भावना बोकेको छ । त्यस्तै भैरहवा क्रिकेट संघका अध्यक्ष प्रशान्त मल्ल पनि यस क्षेत्रमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण भएपश्चात् क्रिकेटमा धेरै विकास हुने र यहाँका खेलाडीले व्यावसायिक रूपमा वैदेशिक प्रतियोगिता खेल्ने सम्भावना रहेको बताए ।
यदि, अब क्यानमा कुनै विवाद नभएर यसक्षेत्रमा क्रिकेटका लागि आवश्यक बजेट विनियोजन भए क्रिकेटले लामो फड्को मार्ने मल्ल बताउँछन् ।
प्रतिक्रिया