स्वस्थ लोकतन्त्रका लागि

औपचारिक घोषणा मात्र बाँकी हो, राजनीतिक पार्टीका नेताहरूले मिडियालाई वर्गशत्रु नै ठानेका छन् । अरू धेरै उदाहरण लिइरहनु पर्दैन, पुष्ट्याइँंका लागि यो दुई साताको बीचमा भएका तीनवटा घटना नै काफी छन् । भूकम्पपीडितहरूको उद्धार र राहत कार्यका विषयमा नेकपा माओवादीका नेत्रविक्रम चन्द (बिप्लव) ले पत्रकार सम्मेलन आयोजना गरे । पत्रकार सम्मेलनमा एकजनाले सोधेको प्रश्नको जवाफ दिन उनलाई अलि कठीन भयो । पत्रकार सम्मेलनमा पत्रकारभन्दा गैरपत्रकार र सन्डमुसन्डहरूको हूल बढी थियो । नेतालाई मन नपर्ने प्रश्न सोधेको भनेर ती सन्डमुसन्डहरू प्रश्नकर्तामाथि जाइलागे । रामधुलाइ गरे । रक्ताम्य नै पारे । पाँच दिनअघि उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमको अभिव्यक्ति पनि आक्रोशपूर्ण थियो । ‘यी पत्रकारहरूले सरकारको नांगेझार पारेको कारणले पुनर्निर्माण कोषमा आउन लागेको रकमसमेत रोकियो’ भने । मिडियाले तथ्यहीन समाचार प्रकाशन वा प्रसारण गरेको हो भने त्यसलाई तत्कालै खन्डन गर्न सकिन्छ । प्रेस काउन्सिलले कारबाही गर्न सक्छ । सही–सत्य खबर हो भने सरकार वा सम्बन्धित संस्थाले आफूलाई सुधार्न सक्छ । आफ्नो कमिकमजोरी औँल्याउनु भनेको सुध्रिने अवसर हो भनेर बुझ्नुपर्ने हो । पत्रकारमाथि अर्को आक्रमण नेपाली कांग्रेस, नुवाकोटका सचिव रमेश महतले गरे । इन्भेस्टमेन्ट बैँकले कविलास, नुवाकोटका विद्यालयलाई सहयोगस्वरूप तीन सय बन्डल जस्तापाता पठाएछ । रमेश महतले त्यसबाट आधा जस्तापाता सुटुक्क गाडीमा लोड गराएर काठमाडौँ पठाउन खोजेछन् । स्थानीय जनताले बाटैमा फेला पारेर ट्रक कब्जा गरी सिडिओसमक्ष बुझाइदिएछन् । त्यही विषयमा रमेश महतले जेठ १७ गते राजधानीमा पत्रकार सम्मेलन आयोजना गरे । पत्रकार सम्मेलनमा पत्रकारभन्दा धेरै बढी गैरपत्रकार, पार्टीका कार्यकर्ता र गुन्डा थिए । कारोबार दैनिकका रिपोर्टर शिव बोहोरा पनि पत्रकार सम्मेलनमा पुगेका थिए । बोहोराले एउटा प्रश्न राखे, जुन रमेश महतका लागि अलि बोझिलो हुनपुग्यो । बोहोराले केही तथ्य पनि राख्न खोजे, त्यसले रमेश महत झन् नांगिने स्थिति बन्यो । रमेश तिल्मिलाएको र अत्तालिएको देखेर रमेशले साथै लगेका गुन्डाहरू अघि सरे र शिव बोहोरामाथि आक्रमण गरे ।
राजनीतिक नेताहरूको महारोग के रहेछ भने उनीहरू आलोचना खप्दैनन् । पत्रकारले मिलाएर लेखिदिऊन्, जवाफदेही हुनुपर्ने स्थिति भएमा सत्यतथ्य नै भए पनि समाचारलाई ब्ल्याक आउट गरिदिऊन् र सजिलो पारिदिऊन् भनेर जबर्जस्ती चाहना राख्छन् । त्यही उद्देश्यअनुसार उनीहरूले आफ्नो पक्षमा पत्रकारहरूको झुन्ड नै तयार गरेका छन् । पार्टी–पार्टीका पत्रकार र पार्टी–पार्टीभित्र गुट–गुटका पत्रकारको झुन्ड तयार गरेका छन् । पार्टी हाँकिरहेको जिम्मेवार व्यक्ति नै पत्रकार बनेर देखापर्ने तथा पत्रकारले नै पार्टी हाँकिरहेको स्थिति देखिन थालेको छ ।
नेपालका राजनीतिक नेताहरू सामन्ती छन् । उनीहरू आफ्नो महिमामन्डन मात्र सुन्न चाहन्छन् । उनीहरूका कान भजनकीर्तन सुन्न र आँखाले भजनमन्डली देख्न लालायित रहन्छन् । आलोचना खप्नै सक्दैनन् । पार्टीभित्रै पनि आलोचनात्मक चेत भएका कार्यकर्ता रहेछन् भने अनेक प्रपञ्च गरेर किनारा लगाइछाड्छन् । सत्ताका कामकारबाहीलाई नियाल्ने र कमिकमजोरी उजागर गर्ने भएकाले प्रतिपक्षलाई समेत सत्ताको चास्नीमा डुबाएर र बिटुल्याएर बोली बन्द गराइदिन्छन् । सरकारका गलत कामलाई न्यायपालिकाले केलाउन सक्ने भएकाले न्यायाधीश नियुक्तिमा समेत भागबन्डा लगाएर पार्टीका झोलेहरू नियुक्त गर्छन् । विश्वविद्यालयका पदाधिकारीहरू र संवैधानिक निकायमा समेत पार्टीगत भागबन्डा लगाएर झोलेहरू नियुक्त गर्छन् । चौतर्फी आफ्ना मान्छे तैनाथ गरेर एकलौटी गर्ने सर्वसत्तावादी सोचले ग्रस्त छन् । त्यसैले यिनीहरूका कामकारबाहीमा पारदर्शिताको अभाव रहन्छ र जवाफदेहिताबाट पन्छन्छन् । यिनीहरूको शब्द र कर्मका बीच कहिल्यै संगति हुँदैन । यही असंगतिलाई कसैले औँल्यायो भने झर्कन्छन्, रिसाउँछन्, आक्रोशित हुन्छन् र आक्रमण गर्छन् । जसरी नेत्रविक्रम चन्द (बिप्लव) र रमेश महतले गरे । यिनीहरूका क्रियाकलाप लोकतन्त्रका लागि क्यान्सर हो । स्वस्थ लोकतन्त्र चाहेको हो भने असंगत कार्यव्यवहार आजैबाट बन्द गरौँ ।

प्रतिक्रिया