टेबलको आश्रयदेखि योगाभ्याससम्म

Bhukampaकाठमाडौं, १९ जेठ । १५ वर्षीया संगीता ठकुरी १२ वैशाखको भूकम्पपछि उत्पन्न डर हटेको बताउँछिन् । टिभी हेरेर बसिरहेकी संगीता भूकम्प आउँदा आत्तिएर ढोकातिर गइन् । ढोका खोल्न खोजिन् । सकिनन्, नजिकै टेबुल देखेपछि त्यसमुनि बसिन् । त्यसपछि मात्र आत्तिएकी थिइन् ।

उनका भाइ सुजन त्यो समयमा आत्तिएनन् । मनमैंजुस्थित एन्जल्स हार्ट स्कुलमा अध्ययनरत दिदीभाइ र बाबुआमा धापासी ग्रिनल्यान्ड हाइटमा डेरामा बस्थे । चिया पसल चलाउने बाबुआमा त्यो दिन छोराछोरीलाई घरमै छाडेर पसल पुगेका थिए ।
एक्कासि भुइँचालो आएपछि उनीहरू बसेको घर भत्कियो । छोराछोरी घरभित्र थिए । सम्पर्क हुन सकेन । बाबुआमाले कमै आशा गरेका थिए । संयोगवश उनीहरूको बसेको घरमा सटर पनि थियो । सटर टाँड परेर दिदी बसेको टेबुलको माथि र भाइले सहारा लिएको खाटमा गएर तेर्सियो । एन्जल्स हार्टमै सात कक्षामा अध्ययनरत सुजन भुइँचालो जानेबित्तिकै खाटमुनि लुकेका थिए ।
पाँच घन्टापछि छिमेकी र प्रहरीले सर्टर काटे । सुरक्षित ढंगले दिदीभाइको उद्धार गरे । भाइको गोडामा चोट लागेकाले उपचार गराए । १० कक्षामा अध्ययनरत संगीता निकै डराएकी थिइन् । स्कुलका प्रिन्सिपल धनबहादुर पुनले ७ जेठमा १० कक्षाका सबै विद्यार्थीलाई भेला गरे । उनले निकालेको निष्कर्ष सही ठहरियो । ‘नजिकका साथीसँगको घुलमिलपछि उनी मानसिक रूपमा ठीक भइन् । उनमा त्रास हट्यो ।
दिदीभाइसहित सबैलाई विद्यालय परिवार ‘मेन्टल रिकभरी’ गर्न प्रयासरत छ । आइतबार डा. योगी चेतनाथ अधिकारी, योगी नानीमैया धितालले मानसिक तयारीको काममा सहयोग गरे । प्रिन्सिपल पुन भन्छन्, ‘यी दुई दिदीभाइसहित सबै आत्मबलसहित पुरानै दिनमा फर्कंदै छन् । सायद अब सबै ठीक हुँदै जान्छ । योगाभ्यासले मानसिक पुनरुत्थानमा पक्कै सहयोग मिल्नेछ ।’

प्रतिक्रिया