पोखरा । जिल्ला खेलकुद विकास समिति कास्कीको आयोजना तथा जिल्ला विकास समिति, जिल्ला शिक्षा कार्यालय, प्याब्सन र एन–प्याब्सान कास्कीको विशेष सहयोगमा पोखरामा सम्पन्न सातौं राष्ट्रपति रनिङसिल्ड विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा टप्स उमावि च्याम्पियन बन्न सफल भएको छ ।
छात्रा भलिबलमा प्रथम भई ३५ तथा एथलेटिक्समा दोस्रो भई १०१ गरी समग्रमा एक सय ३५ अंक प्राप्त गर्दै टप्स उमावि यस वर्षको राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो । योसँगै टप्स च्याम्पियनको शृंखला छैटौँ हो । यस्तै भलिबलमा १४ र एथलेटिक्समा एक सय १२ गरी जम्मा एक सय २६ अंकसहित कास्की मोडनाइज एकेडेमी द्वितीय तथा एथलेटिक्समा ७६ अंकसहित गौरीशंकर उमावि हेमजा तृतीय हुन सफल भएका छन् । च्याम्पियन बनेको टप्सले नगद १५ हजार, द्वितीय बनेको कास्की मोडनाइज एकेडेमीले नगद १२ हजार र तृतीय बनेको गौरीशंकर उमाविले नगद १० हजार प्राप्त गरे ।
विजेता तथा उपविजेतालाई एन–प्याब्सान कास्कीका अध्यक्ष रामबहादुर मोची, प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाट, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष प्रेमनारायण न्यौपाने, कास्की जिल्ला एथलेटिक्स संघका अध्यक्ष खेमबहादुर गुरुङ र कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटालगायतले च्याम्पियन ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे ।
एथलेटिक्सतर्फ एक सय १२ अंकसहित कास्की मोडनाइज एकेडेमी प्रथम, एक सय एक अंकसहित टप्स उमावि द्वितीय र ७६ अंकसहित गौरीशंकर उमावि हेमजा तृतीय भए । छात्र भलिबलमा वीरेठाँटी उमावि प्रथम भएको छ । आइतबार भएको फाइनलमा सिद्धबराह मावि चापाकोटलाई २५–११, २५–१४ र २५–२० को सोझो सेटमा पराजित गर्दै वीरेठाँटी उमावि प्रथम भएको हो । छात्रातर्फ टप्स उमावि प्रथम भएको छ । आइतबार नै भएको फाइनलमा धौलाश्री उमावि छोम्रोङलाई २५–१०, २५–१६ र २५–२० को सोझो सेटमा पराजित गर्दै टप्स उमावि प्रथम भएको हो । दुवै फाइनल खेल राष्ट्रिय रेफ्री गोपाल थापा, राम पुन र चित्रजंग गुरुङले खेलाएका थिए ।
छात्र भलिबलतर्फ वीरेठाँटी उमाविका सुजन गुरुङ र छात्रातर्फ धौलाश्री उमाविका सुस्मिता मगर बेस्ट प्लयेर घोषित भए । यस्तै, कास्की जिल्ला खेलकुद विकास समितिले हरेक वर्ष दिँदै आएको छात्रवृत्तिअन्तर्गत यस वर्ष छात्रातर्फ टप्स उमाविका शशी चौधरी र छात्रतर्फ वीरेठाँटीका राजु दर्जीले प्राप्त गरे । दुवैलाई जनही १० हजार प्रदान गरिएको थियो ।
कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यालय प्रमुख प्रकाश बरालले गरेका थिए । जेठ १४ देखि सञ्चालित प्रतियोगितामा ४६ वटा विद्यालयको सहभागिता थियो । (सौस)
प्रतिक्रिया