युएई र बहराइनमा सांगीतिक कार्यक्रम

Prajeetaकाठमाडौं । नेपालका भूकम्पपीडितको सहयोगार्थ युएई र बहराइनमा रहेका नेपालीले सांगीतिक कार्यक्रम गर्ने भएका छन् । कार्यक्रम युएईको राजधानी अबुधाबी र बहराइनको राजधानी मनामामा जुन १२ मा सांगीतिक कार्यक्रम हुन लागेको हो ।
अबुधाबीको अल नादा स्कुलको अडिटोरियममा हुने कार्यक्रमका लागि एनआरएनका अध्यक्ष कृष्ण भुसालको संयोजकत्वमा रहेको राहत तथा उद्धार समिति गठन गरिएको छ । समितिले नै उक्त कार्यक्रम गर्न लागेको हो । अध्यक्ष भुसालका अनुसार कार्यक्रममा अभिनेता राजेश हमाल, हमाल पत्नी मधु भट्टराई, हाँस्यकलाकार दीपकराज गिरी, गायक तिलकबम मल्ल, इन्द्र जीसी, सम्झना लामिछाने, अष्ट्रेलियामा रहेकी पप गायिका प्रजिता गेलाल र कुबेतका गायक बीबी मल्ल ठकुरीको प्रस्तुती हुनेछ ।
अध्यक्ष भुसालले नेपाली फिल्म, नेपाली आधुनिक तथा लोक साथै पपसंगीतका हस्ती कलाकारहरूको जोडदार प्रस्तुती रहने कार्यक्रमको टिकटमार्फत जम्मा भएको सम्पूर्ण रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने बताए । ‘कलाकारहरूले पनि पारिश्रमिक नलिने वातावरण बनाई गरिएको कार्यक्रम पूरै च्यारिटीमय हुनेछ,’ उनले भने, ‘च्यारिटीका लागि भनेर अल नादा स्कुलले हलभाडा पनि निःशुल्क गरिदिएको छ ।’ अलएनस्थित अन्नपूर्ण ट्राभल्सले सबै कलाकारको भिसा पनि निःशुल्क उपलब्ध गराउने आयोजकले जनाएका छन् ।
यस्तै वैदेशिक रोजगारीको शिलशिलामा बहराइनमा कार्यरत नेपाली युवाको समूहले ‘नेपाली सांगीतिक साँझ–२०७२’ गर्दैछ । मनामास्थित डेल्मन इन्टरनेशनल होटलमा आयोजना गरिने सांगीतिक कार्यक्रममा संगीतकार महेश खड्का, गायकहरू प्रमोद खरेल, रामजी खाँण र ग्ल्यामर गायिका ज्योती मगरसहित स्थानीय कलाकारहरूले प्रस्तुती दिनेछन् । आयोजक समूहका सदस्य अर्जुन दुलालका अनुसार कार्यक्रममा सहभागी हुन प्रतिव्यक्ति पाँच बहराइन डलरबराबरको टिकटको व्यवस्था गरिएको छ र उक्त टिकट बिक्रीबाट संकलित रकम भूकम्पपीडितलाई राहतस्वरूप प्रदान गरिनेछ । (सौस)

प्रतिक्रिया