बासको चिन्तामा पौडीवाज

bakhatकाठमाडौं, १६ जेठ । राजेन्द्र बखतीले पौडी खेल्न थालेको १० वर्ष हुन लागेको छ । उनका भाइ मनोज बखतीले पौडी खेल्न थालेको धेरे भएको छैन । गत वर्ष उमेर समूहको स्पर्धामा स्वर्ण पदक जितेपछि मनोजले महत्वाकांक्षा पनि बढ्दै थियो । ब्राजिलमा हुने ओलम्पिक छनोटमा सहभागी हुने चाहना पूरा गर्न उनले पहिलो चरण नेपाली घरेलु स्पर्धामा सफलता पाउनु त छँदै छ । यसैका लागि प्रशिक्षणमा व्यस्त मनोजको दिनचर्या १२ र २९ वैशाखको भूकम्पका कारण प्रभावत भयो । २५ जेठमा नेपाली पौडी संघले आयोजना गर्ने छनोटमा उनी सहभागी हुने छन् । तथापि, भूकम्पका कारण उनी मानसिक तनावमा मात्र रहेनन्, प्रशिक्षण पनि अवरुद्ध भयो ।

यसपटकको भूकम्पले १४ जिल्ला अत्यधिक प्रभावित भए । यी १४ मध्यकै नुवाकोटमा छ बखती दाजुभाइको घर । नुवाकोट जिल्लाका ९० प्रतिशतभन्दा बढी घर क्षत विक्षत भए ।
बखती दाजुभाइको घर पनि भूकम्पले प्रभावित भयो । बाबु पद्मबहादुर बखती घाइते भएपछि सुरुमा प्रहरी अस्पताल महाराजगञ्ज र पछि तीलगंगा आँखा अस्पतालमा उपचार गराउन यी दाजुभाइ व्यस्त भए ।
घर भत्किएपछि जस्ताको अस्थायी घर त बनाए । यसै साताको हुरीबतासले त्यो अस्थायी घर पनि भत्कायो, जस्ताले लागेर वस्तुभाउ पनि सखाप भए । त्रिपाल पनि उडायो । लगातारको विपत्तिपछि पनि राजेन्द्र फेरि मनोजलाई लिएर काठमाडां आएका छन् ।
सामाखुसीमा बसेको घर चर्केको छ । तैपनि जोखिम उठाएर बसेका छन् । मनमा डर, अस्तव्यस्त घरायसी वातावरण र भर्खरै उपचार गरी घर फर्किएका बाबुको चिन्ता । यावत् समस्याबीच पनि २५ जेठको छनोटलाई ध्यानमा राख्दै प्रशिक्षणमै केन्द्रित छन् । दाजुभाइको एउटै स्वर छ ‘घरायसी तनाव त छँदै छ तैपनि छनोट प्रतियोगितामा केन्द्रित छु ।’

प्रतिक्रिया