लोकतन्त्रको विकल्प : उत्कृष्ट लोकतन्त्र

आठ वर्षअघि आजकै दिन नेपालको राज्य व्यवस्था तथा शासन प्रणाली लोकतान्त्रिक सिद्धान्त र दर्शनमा आधारित हुनेछ भनेर व्यवस्थापिका संसद्ले घोषणा गर्दा सर्वसाधारण नेपाली जनता जिन्दगीमै सर्वाधिक खुसी भएका थिए । अब अन्यायमा पिल्सिनुपर्ने छैन, पक्षपात हुनेछैन, विधिको शासन हुनेछ, सुशासन हुनेछ, शान्ति सुरक्षा, अमनचैन हुनेछ, राष्ट्रले प्रगति, विकास गर्नेछ भनेर सोचेका थिए । राजनीतिक पार्टीका नेता आत्म केन्द्रित, संकीर्ण, स्वार्थी र क्षुद्र भए भने लोकतन्त्रको पनि केही सीप लाग्दो रहेनछ । जनताको संघर्ष, प्राप्ति र हर्ष पनि अर्थहीन हुने रहेछ भन्ने उदाहरण नेपालको लोकतन्त्र भएको छ । राजनीतिक नेता र शासकले लोकतन्त्रलाई कति विद्रुप बनाइदिए भने लोकतन्त्रको रूप, गन्ध, स्वाद सबै सकिएर मौलिक पहिचान नै हरायो । नेपालमा लोकतन्त्रको हालत देख्दा हन्टिङटन्सको कथन याद आउँछ । हन्टिङटन्सले भनेका थिए, ‘एक्काइसौँ शताब्दीमा लोकतन्त्रलाई राजा र सेनाबाट खतरा हुनेछैन, आफूलाई लोकतन्त्रको ठेकेदार भन्ने राजनीतिक पार्टीका नेताको कार्य व्यवहारबाट खतरा हुनेछ ।’
डेढ वर्षअघि काठमाडौंको मल्ल होटेलमा ‘सहभागितामूलक लोकतन्त्र’ विषयमा अन्तर्राष्ट्रिय गोष्ठी भएको थियो । दुई दर्जन देशका प्रतिनिधि सहभागी भएको उक्त गोष्ठीका केही निष्कर्ष मननीय थिए । उक्त गोष्ठीमा ब्राजिलका प्रतिनिधि जर्ज रोमानोको प्रस्तुतिलाई सबैले समर्थन गरे । जर्ज रोमानोले भनेका थिए, ‘विकासशील देशमा लोकतन्त्र त छ, तर दस्तावेजमा मात्र । यथार्थमा सम्भ्रान्त लोकतन्त्र चलेको छ । सम्भ्रान्त लोकतन्त्र चलेको देशमा दस्तावेज हेर्दा लोकतन्त्रका सबै तत्व विद्यमान हुन्छन् तर लोकतान्त्रिक गुण व्यावहारिक र जीवन्त नभएर औपचारिक हुन्छन् । पाँच–छ वर्षमा एकपल्ट भोट हाल्नुबाहेक सर्वसाधारण जनताको प्रयोजन हुँदैन । निर्वाचन सकिएको भोलिपल्टैदेखि प्रतिनिधि सत्ताको लुछाचुँडीमै कति व्यस्त हुन्छन् भने उनीहरूले पाँच वर्षसम्म जनतालाई भुसुक्कै बिर्सन्छन् । भोट हाल्ने बेलामा बाहेक सधैँभरि जनता बेवारिसे, अप्रासांगिक र असान्दर्भिक भइरहन्छन् ।’
नागरिकको पाटोबाट पनि केही कमीकमजोरी भएका छन् । लोकतन्त्रलाई भित्र्याइदिएर मात्र पुग्दैन । लोकतन्त्र मूल्यवान् हो भने यसले सतत निगरानीको माग गर्छ । जीवन्त लोकतन्त्र गतिशील हुन्छ । यसलाई निरन्तर लोकतान्त्रिकरण गरिरहनुपर्छ । जीवन्त र गतिशील लोकतन्त्रमा ‘डेमोक्रेटाइजेसन अफ डेमोक्रेसी’ र ‘रिनेगोसिएसन अफ डेमोक्रेसी’ भइरहेको हुन्छ । लोकतन्त्र भनेको आवधिक निर्वाचन, संसद्मा बहुमत र सत्ता सञ्चालन मात्र होइन । लोकतन्त्र त संस्कृति हो । राष्ट्र, समाज र व्यक्तिको जीवनपद्धति हो । लोकतान्त्रिक संस्कृति स्थापित गर्न र जीवनपद्धतिमा उतार्न नागरिकले के कति अभ्यास गरे, त्यसैबाट लोकतान्त्रिक वटवृक्षको जरा गहिरिएर जान्छ र फैलन्छ ।
फूलको बिरुवा रोपेर माली हिंडिदिएपछि मलजल नपाएर ओइलाएको अवस्थामा नेपालको लोकतन्त्र छ । माली बाहिरिएपछि लोकतन्त्रको बगैँचामा आफूलाई राजनीतिक ठेकेदार दाबी गर्ने ब्वाँसाको रजाइँ भएको स्थिति छ । नेपालको लोकतान्त्रिक फूलबारीमा राजनीतिक ब्वाँसाको हालीमुहाली भएजस्तै सोभियत रुसमा लेनिनको मृत्युपछि शक्ति केन्द्रका भरौटेको रजाइँ चल्न थाल्यो । त्यो देखेर दिक्क भएका म्याक्सिम गोर्कीले लेखे, ‘मसँग ती मानिसको कठोर निन्दा गर्न पर्याप्त शब्द छैनन् जो गोली, संगीन र मुड्कीको बलमा आफ्नो कुरा प्रमाणित गर्छन् । के यिनै कर्म र व्यवहारका विरुद्ध हामीले विद्रोह गरेका थिएनौँ र ? हिजो यिनै तरिकाको प्रयोग गरेर हामीलाई लज्जास्पद दासत्वमा राखिएको होइन र ? औपचारिकतवरमा दासत्वबाट मुक्त भएको भनिए पनि अन्तरमा झन् घीनलाग्दो दासत्वमा जकडिएका रहेछौँ ।’ म्याक्सिम गोर्कीले त्यसबेला जुन पीडा ओकलेका थिए, एउटा सज्जन नेपालीले अहिले त्यही पीडा ओकलिरहेछ ।
लोकतन्त्र आएको दशौँ वर्ष प्रवेशको यो महत्वपूर्ण घडीमा हामी सबैले आ–आफ्नो स्थानबाट आत्मसमीक्षा गरौँ, हामीले कहाँ–कहाँ आफ्नो भूमिका निभाएनौँ, आफ्नो जिम्मेवारी पूरा गरेनौँ र कहाँ–कहाँ चुक्यौँ ? सबैले आ–आफ्नो भागको जिम्मेवारीबोध गर्ने हो भने अहिलेलाई लोकतन्त्रभन्दा उत्कृष्ट अर्को व्यवस्था छैन ।

प्रतिक्रिया