हैदराबाद, १४ जेठ । भारतमा बढ्दो तापक्रमका कारण विशेषगरी भारतको दुईवटा सहरमा तातो हावा अर्थात् लुबाट ज्यान गुमाउनेको संख्या ११ सयभन्दा बढी पुगेको अधिकारीले जानकारी दिएका छन् ।
दक्षिण भारत प्रचण्ड गर्मीले बलेको र सो प्रकोपमा परी मारिनेमा विशेषगरी निमार्णाधीन काममा लागेका कामदार, वृद्ध र घरबारविहीन व्यक्ति परेका जनाइएको छ । लुका कारण अत्यन्त प्रभावित सहर आन्ध्रप्रदेशमा मे १८ देखि हालसम्म ९०० भन्दा बढी व्यक्ति मारिएका छन् । सो सङ्ख्या गत वर्षको यसै मौसममा लुबाट मारिएको सङ्ख्याको तुलनामा दुगुना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
त्यसैगरी आन्ध्र प्रदेशको छिमेकमा पर्ने तेलङ्गाना राज्यको तापक्रम ४८ डिग्री पुगेको र यसबाट २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाइएको छ । ती राज्यमा मारिएका व्यक्तिको तथ्याङ्क अझै संकलन भइरहेको हुनाले अधिकारीले सो सङ्ख्या बढ्न सक्ने बताएका छन् ।
ती सहरहरुमा तापक्रम ५० डिग्रीसम्म पुगेको गत सोमबार प्राप्त एक समाचारमा जनाइएको थियो । विगत केही दिनदेखि ती सहरमा यस्तो हावा चलेको थियो ।
नयाँ दिल्लीस्थित मौसमविद्हरुका अनुसार हाल भारतको अधिकतम स्थानमा जारी रहेको उच्च तापक्रम आगामी हप्तासम्म रहन सक्ने खतरा रहेको आशङ्का गरेका छन् । भारतको राजधानी दिल्लीलगायत हालका दिनहरुमा भारतको ठूलो भागमा लुले प्रभावित बनाएको छ । केही दिनअघि सुरु भएको तातो हावाको अवस्था पछिल्ला केही दिनयता आएर भने दक्षिणी क्षेत्रहरु तेलङ्गना र छिमेकमा पर्ने आन्ध्र प्रदेशमा सर्दै गएको बताइएको छ । एएफपी
प्रतिक्रिया