काभ्रेमा कराते महासंघ र होपको सहयोग

karateकाठमाडौं, १४ जेठ । नेपाल कराते महासंघको पहल र क्यानाडाको ह्यान्ड्स फर अप्टिमाइजिङ पिपुल्स एजुकेसन (होप) नामक संस्थाको सहयोगमा काभ्रेको तामाघाटस्थित दनुवार बस्तीका भूकम्पपीडितलाई बुधबार राहत सामग्री वितरण गरिएको छ ।
उक्त बस्तीका ८३ घरधुरीलाई ७९ थान ब्ल्यांकेट, १८ थान झुल, १५ बोरा चामल, १० प्योटक चाउचाउ, ४० थान म्याट्रेसलगायत गरी ८० हजार मूल्य बराबरको राहत सामग्री वितरण गरिएको होपकी महासचिव सुस्मिता तामाङले जनाएकी छन् ।
सुस्मिता सहित कराते महासंघका अध्यक्ष दावा गुरुङ, नेपाल लोकतान्त्रिक खेलकुद संघका सचिव सुबोध प्रधान, ब्ल्याकबेल्ट कमिटीका अध्यक्ष नारायणदेव राणा, महासंघका सदस्य राजेश अधिकारी, होपका उपमहासचिव विजय लामालगायतले राहत वितरण गरेका थिए । यसअघि महासंघ र होपले संयुक्त रूपमा धादिङ, लम्जुङ, गोर्खालगायत भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण गरिसकेको छ ।
राहत वितरणकै क्रममा कराते महासंघका अध्यक्ष गुरुङले भूकम्पमा परी ज्यान गुमाएकी कराते खेलाडी शान्ति थापाको परिवारलाई महासंघको तर्फबाट १० हजार रूपैयाँ हस्तान्तरण गरे ।
यसैबीच, नेपाल क्योकुसिन कराते डो संघ, नेपाल तारा फाउन्डेसन र बाल अमर स्मृति प्रतिष्ठानले दोलखाको मेडपु गाविसको ९ वटै वडाका भूकम्पपीडितलाई राहत सामग्री वितरण गरेको छ । नेपाल क्योकुसिन कराते डो संघका अध्यक्ष सिहान जगतप्रसाद गौचनलगायतले १ सय बोरा चामल र ३० कार्टुन चाउचाउ वितरण गरेको राष्ट्रिय प्रजातान्त्रिक महाधिवेशन आयोजक कमिटीका सदस्य–सचिव धनसुर शाहीले जनाएका छन् । (सौस)

प्रतिक्रिया