प्रशासनकै उपचार

हाम्रो राज्यव्यवस्था केही क्रोनिक रोगले ग्रस्त छ । राज्यसञ्चालक अगुवाहरूको रोग के छ भने उनीहरू नीति बनाउँछन् तर कार्यान्वयन गर्दैनन् । ‘ओचा’ भनिने संयुक्त राष्ट्रसंघीय निकायले सन् १९९३ मा काठमाडौं उपत्यकाको लिक्विफिकेसनको नक्सांकन गरेर बुझाएको रहेछ । सन् २००८ मा परिमार्जन गरिदिएको रहेछ । कुन ठाउँको भूगर्भको स्थिति केकस्तो छ ? कुनकुन ठाउँमा कस्तो संरचना निर्माण गर्नुहुँदैन ? ती सबै प्रस्ट विवरण लिक्विफिकेसन नक्सामा छर्लंग पारिँदो रहेछ । रिङरोडभित्र अग्ला र गह्रौँ भवन बनाउन नमिल्ने भनी प्रस्ट उल्लेख भएको रहेछ । ओचाले तयार गरेको उक्त नक्सा र प्रतिवेदनले अग्ला एपार्टमेन्ट भवन बनाउने माफियाहरूलाई असर पार्ने भएकाले विभाग, मन्त्रालयका उच्च पदाधिकारी र मन्त्रीको मिलोमत्तोमा उक्त दुवै प्रतिवेदन लुकाइएछ । माफियाहरूको सेवामा हाम्रा मन्त्रीहरू कतिसम्म तल गिर्छन् भन्ने उदाहरण त यही वैशाख महिनामा बसेको व्यवस्थापिका–संसद्को बैठकमा सभासद् जनकराज जोशीले प्रस्टै भनिदिए । ‘नांगिएरै माफियाको सेवामा लागेका ती मन्त्रीजी अहिले पनि सांसद् हुनुहुन्छ र यहीं अगाडी हुनुहुन्छ’ भनेर औँल्याए । त्यति मात्र होइन, १२ वर्षअघि मन्त्रिपरिषद्ले पारित गरेर सबै नगरपालिकालाई कार्यान्वयन गर्न पठाएको भवनसंहिता पनि कार्यान्वयन गरिएन । यसरी माफियाको सेवामा समर्पित भएका पदाधिकारीहरू अरू कोही नभएर तिनीहरू रहेछन् जस्ले आफ्नो परिवारलाई युरोप, अमेरिका, क्यानाडा, अस्ट्रेलियाको पिआर, ग्रिनकार्ड, नागरिकतासहित सेटल गराएका छन् । श्रीमती, बालबच्चालाई उतै सेटल गराइसकेका र भविष्यमा आफू पनि उड्न तैयार भएको मनस्थिति बनाएर बसेका यस्ता पदाधिकारीलाई यो राष्ट्रको माया हुँदोरहेनछ । उनीहरूको मनचित्त र भविष्यको गन्तव्य उतै भएको र बढीभन्दा बढी कुम्ल्याउनका लागि मात्र यहाँ बसेका यी महानुभावहरू राष्ट्रको धमिरा रहेछन् ।
कार्यान्वयनको समस्या त बिकरालै छ । राज्यसञ्चालकहरूसँग भिजन नभएको, प्रष्टता नभएको र आपैँm अल्मलिएर कुहिराको काग भइरहेको स्थिति पनि राज्यव्यवस्थाको अर्को महारोग भएको छ । यही अप्रष्टता र अलमलकै कारणले गर्दा वैशाख १२ गतेपछि सरकारले दातव्य संस्था, समूह वा व्यक्तिले सोझै पीडितछेउ राहतसामग्री पुर्‍याउन पाउँदैन, सिडिओलाई बुझाउनु भनेर निर्देशन गर्‍यो । तर, प्रशासनिक संयन्त्रको असक्षमता र अकर्मण्यताको कारणले स्थिति झन् जटील बन्यो । बाध्य भएर सरकारले चार दिनमै निर्णय फिर्ता लिनुपर्‍यो । नेपालको प्रशासनिक संयन्त्रको कार्यव्यवहार र कर्मचारीको कार्यशैलीको विषयमा कुरा गर्ने हो भने सम्झँदा पनि टाउको दुख्छ । धरहरा ढल्दा किचिएर टाँडी, सिन्धुलीका लालबहादुर खड्का(सन्तोष)को मृत्यु भयो । उनका अभिभावक जिल्ला प्रशासन कार्यालय, काठमाडौं पुगे । त्यहाँका उपसचिवले ‘राहत सिन्धुलीकै जिल्ला प्रशासन कार्यालयले दिन्छ, उतै जानुस्’ भने । मृतकका अभिभावक जिल्ला प्रशासन कार्यालय, सिन्धुली पुगे । तपाईंलाई दुधौली नगरपालिकाले राहत दिन्छ भने । नगरपालिका पुगे । काठमाडौंबाट प्रहरी रिपोर्ट नआई केही गर्न सकिँदैन भने । पुन: काठमाडौं फर्के र प्रहरी प्रभाग विशालबजार पुगे । रिपोर्ट त वीर अस्पतालले दिने हो, त्यतै जानुस् भने । वीर अस्पताल पुगे । सम्पूर्ण रिपोर्ट अस्ति नै प्रहरीमा पठाइसकेकोले प्रहरी कार्यालयमै छ भनेर अस्पतालले ठाडै फिर्ता पठाइदियो । पुन: प्रहरी कार्यालय गए ।‘लाइनमा बस्नु’ भन्यो । तीन घन्टा लाइनमा बसे । ‘रिपोर्टमा सही गर्ने अधिकृत हिँड्नुभयो, आज काम हुँदैन, भोलि आउनुहोस्’ भने । भोलिपल्ट त्यसैगरी लाइनमा बसेर रिपोर्ट प्राप्त गरे । रिपोर्ट बोकेर दुधौली नगरपालिका कार्यालयमा गए । सिन्धुली जिल्ला प्रशासन कार्यालयमा जानुस् भने । प्रशासन कार्यालयमा पुगे । काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट राहत लिएको छैन भनेर लेखाएर ल्याउनुहोस् भने । पुन: काठमाडौं फर्के । जिल्ला प्रशासन कार्यालय, काठमाडौं पुगे । काठमाडौं महानगरपालिकाबाट लेखाएर ल्याउनुहोस् भने । महानगरपालिका पुगे । प्रहरी रिपोर्ट नभै लेख्न सकिंदैन भने । प्रहरी कार्यालय पुगेर रिपोर्टको अर्को कपी निकाले । महानगरपालिकाको पत्र लिएर पुन: काठमाडौं प्रशासन कार्यालय पुगे । चार घन्टा लाइनमा बसेपछि लेखा शाखाले पत्र बनाइदियो । त्यो पत्र लिएर पुन: सिन्धुली फर्के । जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले, तैपनि, राहत दिन कुन्नि केके मिलेन भनिरह्यो ।
यो त एउटा प्रतिनिधि उदाहरण मात्र हो । नेपालको प्रशासनिक झन्झट यति दिक्कलाग्दो छ, झमेला खप्न नसकेर मान्छेले कामै छाडिदिन्छ । कर्मचारीतन्त्र प्रक्रियामुखी छ । कर्मचारीमा कार्यतत्परता पटक्कै छैन । मानवीयता छैन । सुष्क र यान्त्रिक छ । भूकम्पपछि पुनर्निर्माण र नवनिर्माणको अभियानको जिम्मेवारी छ । नयाँ नेपाल निर्माण गर्ने चर्का नारा पनि छन् । यदि साच्चै सुन्दर र सुरक्षित नेपालको निर्माण गर्ने हो भने सर्वप्रथम राज्यव्यवस्थाभित्र गढेर बसेका यी महारोगको उपचार गरिहाल्नुपर्छ ।

प्रतिक्रिया