५० हजार स्वयंसेवक खटाइने

काठमाडौं, ११ जेठ । युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले भूकम्पले अति प्रभावित १४ जिल्लामा अस्थायी बसोबास र पुनर्निर्माण कार्यमा सहयोग गर्न मन्त्रालयले ५० हजार युवा स्वयंसेवक खटाउने बताएका छन् ।
भूकम्पपीडितका लागि राहत वितरण गर्न गृह जिल्ला बारा आगेका मन्त्री पौडेलले शनिबार निजगढमा उक्त कुरा बताएका हुन् । ‘मन्त्री परिषद्ले स्वयंसेवक परिचालनसम्बन्धी कार्य विधि पारित गरेको छ’, मन्त्री पौडेलले भने । ‘अब स्वयंसेवा गर्न इच्छुक युवा तयार पारेर प्रभावित क्षेत्रमा तत्काल खटाउन सुरु गरिनेछ ।’
मन्त्री पौडेलले देशभित्रका विभिन्न समाजिक संघसंस्था तथा राष्ट्रिय÷अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामाफर्त युवा स्वयंसेवकलाई प्रभावित क्षेत्रमा खटाउने योजना बनाएको जानकारी दिए ।
मन्त्री पौडेलले कार्य विधिमा स्वयंसेवा गर्न इच्छुक युवालाई मन्त्रालयले अन्य संघसंस्थामार्फत पनि परिचालन गर्न सक्ने बताए ।
मन्त्रालयले करिब ५० हजार स्वयंसेवक युवा परिचालन हुने अनुमान गरेको छ । मन्त्रालयको समन्वयमा परिचालन गरिने स्वयंसेवकका लागि आवश्य तालिम र अन्य खर्च सम्बन्धित गैरसरकारी संस्थाले नै बेहोर्ने छन् ।
यसअघि मन्त्रालयअन्तर्गत रहेका खेलकुद र युवाको क्षेत्रमा काम गर्ने संघ, संघठनलगायत नेपाल स्काउट र विभिन्न ८ गैरसरकारी संघसंस्थामार्फत करिब ७ हजार युवा भूकम्प प्रभावित क्षेत्रमा परिचालन हुँदै आएका छन् । (सौस)

प्रतिक्रिया