अफगानिस्तानविरुद्व नेपाल

u-14काठमाडौं, ११ जेठ । ‘फ्रम द रुबल्स वि राइज, लेट्स प्ले फर नेपाल’ भन्ने नारासहित विनाशकारी भूकम्पमा परी ज्यान गुमाएकाप्रति समर्पित नेपाली यु–१४ फुटबल टोली दोस्रो जितको खोजीमा सोमबार अफगानिस्ताविरुद्व खेल्दै छ । खेल नेपाली समयअनुसार साँझ ६ः१५ बजे हुनेछ ।

यसअघि नेपालले एफसी यु–१४ क्षेत्रीय च्याम्पियन्ससिपको पहिलो खेलमा पाकिस्तानमाथि १–० को साँघुरो जित निकालेको थियो । नेपालको जितमा एक मात्र निर्णायक गोल रेजिन सुब्बाले गरेका थिए ।
दोस्रो खेलमा सोमबार अफगानिस्तानविरुद्व दशहान्वे मैदानमा उत्रँदा त्यही प्रदर्शनलाई निरन्तरता दिनु आवश्यक छ । नेपालले पाकिस्तानविरुद्वको खेलमा सबै पक्षमा उत्कृष्ट प्रदर्शन गरेको थियो । लगातार दोस्रो जित निकाल्नसके नेपाल समूह विजेता बन्दै अर्काे चरणमा प्रवेश गर्नेछ ।
एसियाको फुटबल तल्लो तहबाटै विकास गर्ने उद्देश्यले एएफसीले प्रत्येक वर्ष फेस्टिभलको आयोजना गर्छ । नेपालले फेस्टिभलका लागि एक महिनाअघिबाट तयारी थाले पनि वैशाख १२ को विनाशकारी भूकम्पले प्रशिक्षण प्रभावित बनेको थियो । भूकम्पपछि पनि एन्फाले क्याम्प खडा गरी खेलाडीको मनोवैज्ञानिक असर कम गराई फेस्टिभलका लागि तयार बनाएको थियो ।
एफसी यु–१४ क्षेत्रीय फुटबल फेस्टिभलमा दक्षिण एसिया र मध्यक्षेत्रका सात टोलीले सहभागिता जनाएको छ । प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक ताजिकिस्तानसहित भारत, श्रीलंका र इरान छन् । समूह ‘बी’ मा नेपालसहित अफगानिस्तान र पाकिस्तान छन् । प्रतियोगिताको फाइनल खेल मे २६ मा दशहान्वे सहरमा हुनेछ ।
नेपाली युथ टोली अभिषेक बर्माको कप्तानीमा छ । ताजिकिस्तान जाने टोलीका अन्य सदस्यमा छिरिङ तामाङ, आकाश रानाभाट, असीम भुषाल, विकास खवास, नवीन गुरुङ, अञ्जल गुरुङ, नीराजन महर्जन र मनीष थापा रहेका छन् । यसैगरी, टोलीमा अमृत गुरुङ, विनय चौधरी, नितेन थापा, दिप्सन राउत, अनिल महर्जन, जय गुरुङ, दर्शन गुरुङ, रेजिन सुब्बा र राजीव लोप्चन पनि रहेका छन् । यस्तै मुख्य प्रशिक्षकमा हरि खड्का र सहायक प्रशिक्षकमा सुनोज श्रेष्ठ रहँदा टिम म्यानेजरमा सञ्जीव मिश्र रहेका छन् ।

प्रतिक्रिया