समलिंगी विवाहलाई मान्यता

english-(1)महिनौँदेखि आयरल्यान्डमा बहसको विषय बनेको थियो, समलिंगी विवाह । समलिंगी विवाह अर्थात् केटाले केटासँग र केटीले केटीसँगै विवाह गर्न पाउने कानुनी अधिकार । अधिकार प्राप्तिका लागि संघर्षरत सानो समुदायले मागेको अधिकारलाई आइरिस जनताले कसरी हेर्छन् भन्ने विषय सबैका लागि चासोको थियो । तर, समलिंगी विवाह आयरल्यान्डका केही गाउँ र सहरमा मात्रै सीमित रहेन । अधिकांश जनता (६२ प्रतिशत) समलिंगी विवाहको पक्षमा देखिएपछि अब यस मुद्दाले कानुनी विजय हासिल गरेको छ । आयरल्यान्ड जनमत संग्रहबाट समलिंगी विवाहलाई पारित गर्ने विश्वकै पहिलो देश बनेको छ । जनमत संग्रहको नतिजालाई संसद्ले पारित गरेपछि आयरल्यान्ड विश्वमा समलिंगी विवाहलाई मान्यता दिने १९ औँ देश बन्नेछ ।

जनमतपछि आयरल्यान्डमा रहेका समलिंगी मात्रै नभएर विश्वकै समलिंगी हर्षित देखिएका छन् । अमेरिका, चीन, स्विट्जरल्यान्डलगायत देशका समलिंगी समुदायका अगुवा तथा संस्थाले यस निर्णयको स्वागत गरेका छन् । उनीहरूले आयरल्यान्डले झैँ विश्वका अन्य देशले पनि यस्तो कानुन पारित गराएर समानताका पक्षमा उभिनुपर्ने तर्क राखेका छन् ।
पछिल्लो दशकमा विश्वभर समलिंगीले अधिकारको माग राखे पनि उनीहरू आफ्नो अधिकार प्राप्तिको बाटोमा छैनन् । अहिले पनि थुप्रै देशमा समलिंगी सार्वजनिक स्थानमा घुम्न सक्दैनन्, सभा–समारोहमा उभिएर भाषण गर्न सक्दैनन् । कट्टर क्याथोलिक देश आयरल्यान्डले सन् १९९३ मा पहिलोपटक समलिंगीलाई स्विकारेको थियो । आयरल्यान्डको कानुनमा त्यतिबेलै समलिंगी भन्ने शब्द समेटिए पनि सामाजिक रूपमा समलिंगीका लागि जीवन कठिन थियो । त्यति बेलैदेखि विवाह लिंगका आधारमा नभएर मानिसको इच्छाका आधारमा गर्न पाउनुपर्छ भन्ने माग आयरल्यान्डमा उठेको थियो । निरन्तरको संघर्षपछि आइरिस सरकार यस विषयमा जनमत संग्रहमा जान तयार देखियो । नतिजा अहिले समलिंगीको पक्षमा गएको छ ।
समलिंगी विवाहका लागि हुन्छ भन्ने अभियान थालेका अगुवाले मानिसले प्रेम गरेपछि विवाह गर्न पाउनुपर्ने तर्क राखेका थिए । उनीहरूले यस विषयलाई सामान्य रूपमा लिएर मतदान गरिदिन सर्वसाधारणसँग आग्रहसमेत गरेका थिए । सबै उमेरका मानिससँग उनीहरूको आग्रह थियो, ‘कृपया समानताका लागि भोट हालिदिनुस् ।’ उनीहरूले विवाहलाई आधारभूत आवश्यकताका रूपमा अथ्र्याउँदै सबैले आपूले रुचाएकासँग विवाह गर्न पाउनुपर्ने माग राखेका थिए । जनमत संग्रहपछि डब्लिनमा समर्थकले खुसीयाली मनाएका छन् । जनमत संग्रहमा केही क्याथोलिक धर्मगुरुहरूले समलिंगी विवाहको विरोधमा मत खसाल्न आग्रह गरेका थिए । उनीहरूले विवाह मानव सृष्टिसँग सम्बन्धित रहेको भन्दै समलिंगी विवाहले जन्मान्तरमा असर पार्ने बताएका थिए । ‘सृष्टिमा समलिंगी विवाहको असर ठूलो देखिनेछ । भोलिका समुदायले समलिंगी विवाहलाई प्रोत्साहन दिँदा के सिक्लान् ?’ उनीहरूको तर्क थियो । विवाह सृष्टिकै लागि महत्वपूर्ण भएका कारण पुरुषले महिला र महिलाले पुरुषसँग विवाह गर्नुको विकल्प हुन नसक्ने उनीहरूको माग छ । हारपछि इयोन इस्न्टिच्युटका तर्फबाट जारी गरिएको विज्ञप्तिमा विपक्षीले भनेका छन्, ‘शारीरिक रूपमा आमा र बाबु नमिलेसम्म सृष्टि सम्भव छैन् ।’
आयरल्यान्डको यस निर्णयपछि अमेरिकामा रहेका समलिंगीहरूले पनि यस्तै अधिकार पाउनुपर्ने माग राखेका छन् । यसअघि समलिंगीका समस्यालाई लिएर अदालतमा थुप्रै बहस चलेका कारण अब यो निर्णयले आयरल्यान्डलाई झन्झटमुक्त राख्ने अनुमान लगाइएको छ । नैतिक तथा धार्मिक कारण देखाउँदै आयरल्यान्डमा समलिंगी विवाहलाई अस्विकार गरिएको थियो । समलिंगी विवाह गरेकै कारण कानुनी समस्या झेल्नेहरूको संख्या अब कम हुने अनुमान लगाइएको छ । यसअघि सन् २०१३ मै बेलायतका कानुनविदले यस्तो नियम पारित गरेका थिए । अमेरिकाका केही राज्यमा यस्तो कानुन पारित भए पनि केन्द्रीय सरकारले भने कुनै निर्णय लिएको छैन ।
विश्वभर रहेका धार्मिक नेता तथा राजनीतिज्ञलाई आयरल्यान्डको यस जनमतले नयाँ सन्देश दिएको छ । लेस्वियन तथा गेको अधिकारप्राप्तिका लागि भएका जनमत संग्रह उदाहरणीय रूपमा रहेका अधिकारकर्मीले बताएका छन् । रुसमा रहेका सानो संख्याका समलिंगी तथा अरब, अफ्रिका र एसियाका थुप्रै देशमा समेत यो परिणामले समलिंगीमा आशाको सञ्चार गराएको छ ।

चर्चले शिक्षाको गुणस्तर नियाल्ने
आयरल्यान्डका एक वरिष्ठ पादरीले जनमतको फैसलालाई सम्मान गर्ने बताएका छन् । डब्लिनका विशप ड्यारमउड मार्टिनले चर्चले युवा पुस्तासँग अझै सम्बन्ध विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए । ६२ प्रतिशतले गे तथा लेस्वियनको पक्षमा भोट गरेका थिए । तर, ड्यारमउडले विवाहको विपक्षमा भोटिङ गरे । उनले भनेका छन्, ‘हामीले यथार्थलाई अस्विकार गरेर भाग्न मिल्दैन । बरु हाम्रा कमजोरी खोज्नुपर्छ । आजको दिनमा समलिंगीमा देखिएको खुसीको म तारिफ गर्छु । यसलाई एउटा सामाजिक रूपान्तरण नै मान्नुपर्छ ।’ उनले समलिंगीका अधिकारलाई विवाहको परिभाषा परिवर्तन नगरिकनै सम्बोधन गरिन सकिने बताए । ‘उनीहरूका अधिकारको सम्मान गर्नका लागि विवाहकै परिभाषा परिवर्तन गर्नुपर्ने आवश्यकता थिएन तर आज समलिंगीको पक्षमा भोट खसाल्ने अधिकांश युवा क्याथोलिक स्कुलकै उत्पादन हुन् । उनीहरूले चर्चकै विपक्षमा भोट खसाल्नुले हाम्रो शिक्षा प्रणालीलाई चुनौती दिएको छ ।’ उनले भविष्यमा चर्चको शिक्षा प्रणाली परिवर्तन गर्दै युवालाई थप प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने बताए ।
बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले ट्विटरमा लेखेका छन्, ‘आयरल्यान्डका जनतालाई बधाई । समलिंगी विवाहको पक्षमा भोट गर्दै तपार्इंहरूले सबै समान रहेको सन्देश विश्वभर दिनुभएको छ ।’
(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया