नेपालगञ्ज । बाँकेको कोहलपुरमा भएको जिल्लास्तरीय अन्तर मावि मिड वेस्टर्न टी–२० क्रिकेट रनिङ शिल्डकोे उपाधी वागेश्वरी एकेडेमीले आफ्नो पोल्टामा पारेको छ ।
शनिबार भएको फाइनल खेलमा बागेश्वरीले नोबल इंग्लिस बोर्डिङ स्कुललाई २५ रनले पराजित गर्दै रनिङ शिल्ड आफ्नो पोल्टामा पार्न सफल भएको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको वागेश्वरीले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १३५ रन बनाएको थियो । उसका लागि लागि दीपेन्द्र रावत ‘ए’ ले (३२), निराजन शाह (१७) र विनय चन्दले (१७) रन जोडे ।
बलिङतर्पm नोबलका लागि शैलेन्द्र शाहीले तीन विकेट लिन सफल भए । कुल १३६ रनको लक्ष्य पछ्याएको नोबलले निर्धारित २० ओभरमा १० विकेट गुमाई ११० रनमा सीमित भयो । उसका लागि कमल भण्डारी (२८) र विकास मल्लले(१३) रन जोडे ।
वागेश्वरीका लागि लवकुश यादव तीन र दीपेन्द्र रावत ‘ए’ले दुई विकेट लिए । खेलको म्यान अफ दि म्याच वागेश्वरीका दीपेन्द्र रावत ‘ए’ घोषित भए ।
प्रतियोगिताको विजेता विद्यालय वागेश्वरी एकेडेमीलाई १५ हजार र उपविजेता विद्यालय नोबललाई सात हजार नगद पुरस्कारसहित शिल्ड र प्रमाणपत्र वितरण गरियो ।
प्रतियोगिता अवधीभरबाट प्लेयर अफ दि सिरिज वागेश्वरी एकेडेमीका दीपेन्द्र रावत ‘ए’ उत्कृष्ट ब्याट्सम्यान र संयुक्त रूपमा उत्कृष्ट बलर भएका वागेश्वरीकै विश्वराज शाही र नोबलका कमल भण्डारीलाई आकर्षक मोबाइल पुरस्कार दिइएको आयोजकले जनाएको छ ।
त्यस्तै राइजिङ प्लेयर रामजानकी उच्च माविका अविशेक घताने र उत्कृष्ट फिल्डर नोबलका रामकुमार खत्रीलाई पनि नगद पुरस्कार दिइएको थियो । जेठ २ गतेबाट सुरु भएको प्रतियोगितामा बाँकेका १५ विद्यालयको सहभागिता रहेको थियो । (सौस)
प्रतिक्रिया