काठमाडौं, ७ जेठ । वैशाख १२ र २९ गते आएको विनाशकारी भूकम्पले सारा नेपाली अभैm पनि त्रसित अवस्थामा छ । यसमा नेपाली खेलाडी पनि अछुतो रहन सकेका छैनन् । नेपाली पौडीका कीर्तिमानधारी तथा सफल खेलाडी शिरीष गुरुङ पनि भूकम्पकै त्रासमा बसिरहेको बताउँछन् । ‘१२ गते गएको विनाशकारी भूकम्पले १३ र १४ गते तय भएको राष्ट्रिय पौडी च्याम्पियनसिप रद्द भयो ।’
नेपाली पौडीका कीर्तिमानधारी शिरीषले भने, ‘अझै पनि पराकम्पन जाने क्रम नरोकिँदा कल्पनै नगरेको समय बिताउनु परेको छ ।’ उनी थप बताउँछन्, ‘अहिले कुनै प्रतियोगिताको तयारीमा हुन्थे होला । सबै नेपालीको महत्वपूर्ण समय त्यतिकै खेर गइरहेको छ ।
खेलको तयारीमा रहिरहँदा तथा प्रशिक्षण सकिएपछि काँधको लिगामेन्ट च्यातिएकाले नियमित फिजियो थेरापीका लागि बाँसबारीको केयर होममा थिए ।’ उनले १२ गतेको स्मरण गर्दै भने, ‘केही दिनदेखि म नियमित फिजियोथेरोपी गर्दै थिए । त्यसदिन पनि काँधमा फिजियोथेरापीका उपकरण जोडिएको थियो । एक्कासी भवन हल्लिन थाल्यो । मानिसहरू पनि उभिरहेकै ठाउँमै हल्लिन थाले । सबैजना निस्किए । त्यहाँ म र मम्मी मात्र भयौँ । सबैजना भागेपछि शरीरमा जोडिएका सबै
उपकरण निकालेर बाहिर निस्कियाँ ।’ शिरीषले भने ।
‘केही बेर बसेपछि हामी घरतिर लाग्यौँ । फोन गर्दा कसैसँग पनि सम्पर्क हुन सकेन । मनमा एकदमै डर उत्पन्न भइरहेको थियो । तर, घरमा पुग्दा घर केही मात्रै चर्किएको देखेँ । मन अलि शान्त भयो । तर, पौडी पोखरी नै भत्किएको खबर पाएपछि मन नै खिन्न भयो,’ उनले भने । छिनछिनमा आइरहने पराकम्पनले अभै पनि डर नहटिसकेको बताउने उनी १२ वैशाखको भूकम्पपछि पहिलो र दोस्रो रात डर र त्रासले गाडीभित्र सुतेको र त्यहाँ पनि डराएको बताउँछन् । ‘तैपनि एक सातासम्म निदाउन सकिएन । ’त्यसपछि भने घर (ज्ञानेश्वर) मै बस्न थालँ ।
‘घरभित्र सुते पनि जतिबेलै पनि हल्लिरहेको जस्तो अनुभव हुन्छ ।’ शिरीषले भने, ‘घरमा बस्दा सावधानी अपनाएर बसिन्थ्यो । अहिले भूकम्प आइरहे पनि सामान्य जीवनमा फर्किए जस्तो लाग्न थालेको छ । काँध पनि निको भइसकेको छ, सायद आरामले होला । नियमित प्रशिक्षण गर्ने स्विमिङ पुल क्षति भएको छ ।’ तथापि पनि आफ्नो खेल नखस्कियोस भन्नका लागि अन्य पौडी पोखरीमा प्रशिक्षण गर्ने योजना रहेको उनले सुनाए ।
प्रतिक्रिया