भारतीय प्रधानमन्त्री मोदीको पहिलो वर्ष चम्कँदै वा निभ्दै

modi-photoम नरेन्द्र मोदीको भक्त होइन, किन ? यसकारण कि उनी हिन्दू हुन् र म मुसलमान ? वा यसकारण किनकि कट्टरवादी हिन्दूको विरोधमा हाम्रो रगत तात्छ ? वा यसकारण कि म एक त्यस्तो सनातन व्यक्ति हुँ, जो हिन्दू– मुस्लिम दुवै कट्टरवादीको विरोधमा हुन्छ ? एक साल पूरा भएपछि म नरेन्द्र मोदीको कार्यकालका विषयमा समीक्षा गर्दैछु ।

यदि मैले उनको धेरै प्रशंसा गरँ भने आफैँलाई कट्टरवादी मोदीविरोधी मुस्लिम श्रेणीबाट अलग राख्न यस्तो गरेको आरोप लाग्नेछ । यदि मैले उनको आलोचना धेरै गरँे भने ममाथि मोदीविरोधीको आरोप लाग्नेछ । तर, यदि निष्पक्ष भएरै भन्ने हो भने मोदीको क्रेज धेरै कम भइसकेको छ । उनको कद घट्दैछ र ५६ इन्चको छाती अब कम फुल्दैछ । उनको सबैभन्दा नराम्रो बानी भनेको बोल्ने धेरै र
काम गर्ने कम हो ।
उनका आलोचकहरू मोदी निरंकुश रहेको बताउँछन् । देशका प्रमुख उनै हुन्, पार्टीका प्रमुख पनि उनै छन् । मन्त्रीहरू सानातिना कुरामा अल्झन्छन्, मोदी सबैका कुरा सुन्छन् तर निर्णय आफैँ लिन्छन् । आदर्श ग्राम योजना, आठ करोड ग्रामीण परिवारलाई औपचारिक बंैकिङ प्रणालीमा समेट्ने प्रक्रिया, डिजिटल इन्डिया र मेक इन इन्डियालगायतका योजना युपीए सरकारका योजनाका नक्कल राम्रै रहेको कतिपयको बुझाइ छ ।
सत्तामा आएको एक सय दिनभित्र विदेशमा लुकेको कालो धन फिर्ता गर्ने मोदीको वाचा अझै पूरा भएको छैन । महँगी घटेको छैन र गरिबीले गरिबको साथ छाडेको छैन । धेरैको आरोप यो पनि छ कि मोदी किसानका लागिभन्दा उद्योगपतिका हक अधिकारका लागि सोच्छन् । यस आरोपलाई भूमि अधिग्रहण बिलले पुष्टि गरेको छ जसलाई किसानविरोधी मानिएको छ ।
पछिल्लो एक वर्ष उनी प्रवासी भारतीयका लागिसमेत अभिभावक बनेर उभिएका छन् । उनी आफ्नै देशको प्रान्तभन्दा धेरै विदेश भ्रमणमै रमाएका छन् । तर, यदि मोदीले सत्तामा आउनुअघिको स्थितिलाई ध्यान राख्ने हो भने मोदीको उपलब्धि निकै सार्थक मान्न सकिन्छ ।
आफ्नो अन्तिम वर्ष कांग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसिभ गठबन्धनले जनताका लागि कुनै काम गरेन । महँगी धेरै बढेको थियो र जनता निकै निराश थिए । आर्थिक विकासको स्तर निकै घटेको थियो । बजारमा कालोबजारी व्याप्त रह्यो तर सरकारले त्यसविरुद्ध कुनै फैसलासमेत गर्न सकेन । समाजमा बेरोजगार हुनेको संख्या बढेको थियो । सेयरको भाउ घटिरहँदा सरकारले केही गर्न सकेन । यस्तै परिस्थितिबीच गत वर्ष सम्पन्न चुनावमा मोदीले जनतालाई ठूलै सपना देखाएका थिए ।
आमचुनावमा विकास र प्रशासनको ललिपप देखाएर मोदी ठूलै बाजी मार्न सफल भए । उनीमाथि जनताको विश्वास र भरोसा अझै टुटेको छैन तर विस्तारै आकर्षण भने अवश्य कम हँुदैछ । उनले एक वर्षभित्र जति पनि मुद्दा उठाए युवाहरूको मनोबल त्यसले उच्च बनाएको छ । डिजिटल इन्डिया, स्किल्ड इन्डिया वा मेक इन इन्डिया नै किन नहोस् यस्ता परियोजनाले भविष्यका लागि आशाको ढोका खुलेको छ ।
मोदीको क्षमताका विषयमा अहिले पूरै विश्व जानकार छ । उनी निकै क्षमतावान् भने अवश्य छन् । राजीव गान्धीले कप्युटर र इलेक्ट्रोनिक रेल टिकट रिजर्वेसनको योजना सुरु गर्दा कसलाई थाहा थियो ? स्वतन्त्रतापछि पुरानै ढर्राबाट चलिरहेको भारतीय समाज सुनौलो भविष्यका लागि लम्कने क्षमता राख्छ । जब नरसिंहा रावले सन् १९९१ मा उदारवादी अर्थव्यवस्था लागू गरे त्यतिबेला कसलाई थाहा थियो ? छोटो समयमै रिक्सा चलाउनेदेखि घरमा झाडु लगाउनेसम्मले मोबाइल बोक्ने हैसियत राख्छन् वा भारतका केही ठूला सहरमा वातानुकुलित मेट्रो नेटवर्क सञ्चालनमा आउनेछन् ।
नेहरूले भारतलाई हेभी इन्जिनियरिङको कारखाना दिए, आइआइटी जस्तो संस्था दिए, राजीव गान्धीले इलेक्ट्रोनिक देश बनाए, नरसिंहा रावले ल्याएको उदार अर्थव्यवस्थाले भारतलाई बाह्य समाजसँग जोड्यो । मोदी पनि यसरी नै भारतलाई विकसित देशको श्रेणीमा राख्ने क्षमता राख्छन् । उनका योजना पनि सफल होलान् भन्ने कुनै गयारेन्टी छैन । मोदीको समीक्षा गर्नका लागि उनको तत्कालको वा एक सालको काम होइन, बाँकी चार सालसम्मको काम हेर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया