नवनिर्माणको सम्भावना

सन् २००१ मा गुजरातमा गएको भूकम्पले आठ हजार गाउ प्रभावित भएका थिए । धेरै बस्ती ध्वस्त भएका थिए । तत्कालै २० हजार नागरिक मृत्युको मुखमा पुगेका थिए । त्यसबेला मुख्यमन्त्री केसुभाइ पटेल थिए । पुनस्र्थापना र पुनर्निर्माणका लागि खर्बाैं रकम आवश्यक भएकाले तत्कालीन गुजराती सरकारले सम्पूर्ण भारतवासी र विदेशमा रहेका भारतीयसग सहयोगको याचना गर्‍यो । वर्तमान नेपालको सरकार र पार्टी नेताहरूले भ्रष्टाचारीलाई संरक्षण गरेर र अपराधीसग साठगाठ गरेर बदनाम भएजस्तै केसुभाइ पटेलको सरकार पनि बदनाम थियो । भ्रष्ट भएकाले अहिले नेपालको सरकारलाई जस्तै त्यहा“ पनि केसुभाइ पटेलको सरकारलाई कसैले विश्वास गरेन । पुनर्निर्माण कोषमा रकम जम्मा भएन । बजेटको अभावले गर्दा पुनर्निर्माण अघि बढ्न सकेन । नौ महिनापछि नरेन्द्र मोदी गुजरातको मुख्यमन्त्री भए । बजेटको अभावमा पुनर्निर्माण हुन नसकेको अवस्था छ“दै थियो । नरेन्द्र मोदीले सर्वप्रथम विदेशमा रहेका गुजरातीहरूस“ग सहयोगका लागि अपील गरे । निजी स्वार्थ, लोभ–पाप नभएका, भ्रष्टाचारीलाई संरक्षण र अपराधीसग साठगाठ नगर्ने तथा भिजन, गट्स, कमान्ड भएकाले नरेन्द्र मोदीको एक आह्वानमा विदेशमा रहेका गुजरातीले १३ करोड डलर पुनर्निर्माण कोषमा जम्मा गरिदिए । प्रवासी गुजरातीले सहयोग राशी जम्मा गर्नासाथ भारत र विश्वका कुना–कुनाबाट धनराशी जम्मा हुन थाल्यो । मोदीले समाजका प्रतिष्ठित व्यक्ति र उपभोक्ताहरूलाई राखेर केन्द्र्रदेखि तल्लो युनिटसम्म पुनर्निर्माण कमिटी बनाए । पार्टी–कार्यकर्ता र कर्मचारीलाई निर्णायक स्थानमा राखेनन्, सहयोगी भूमिकामा राखे । समितिका हरेक कामकारबाहीमा पारदर्शिता र जवाफदेहिता हुनुपर्ने गरी निर्देशिका जारी गरे । सामाजिक अगुवा र उपभोक्ताको सहकार्यमा उत्साहजनक तवरले दुई वर्षभित्रै पुनर्निर्माण सम्भव भयो । चौडा सडकहरू र अत्याधुनिक भवन बने । झन् सुन्दर र सुरक्षित गुजरातको निर्माण भयो । गुजरातको यो घटनाले मार्क स्किडमोर र हिडेकी टोयाको निष्कर्षकै पुस्टि गर्छ ।
युनिभर्सिटी अफ विस्कन्सिन, अमेरिकाका प्रोफेसर मार्क स्किडमोर र नोगोया सिटी युनिभर्सिटी, जापानका प्रोफेसर हिडेकी टोयाले प्राकृतिक विपत्तिले तहसनहस पारेका ८९ मुलुकमा भएको पुनर्निर्माण र प्रगतिको विषयमा सोध–अनुसन्धान गरेका थिए । इकोनोमिक इन्क्वायरी नामक जर्नलमा सन् २००२ मा उक्त अनुसन्धानात्मक लेख प्रकाशित भएको थियो । भिजन भएको, स्वच्छ, दह्रो, सिर्जनशील, कर्मठ, समर्पित, इमानदार नेतृत्व भएको मुलुकले विपत्तिपश्चात् झन् चौगुना उन्नति–प्रगति गर्छ । भ्रष्ट र अक्षम नेतृत्व भएको मुलुकमा जब प्राकृतिक प्रकोपले सर्वनाश गर्छ, स“गस“गै पतित नेतृत्वले त्यही सर्वनाशलाई अघि बढाएर राष्ट्रलाई अधोगतिमा पुर्‍याउछ भन्ने त्यो सोध–अनुसन्धानको निष्कर्ष छ । भिजनयुक्त, स्वच्छ, त्यागी, कर्मठ, दह्रो नेतृत्वलाई सबैले पत्याउछन् र विश्वास गर्छन् । भरोसा भएकैले सबैले दिल खोलेर सहयोग गर्छन् । चारैतिरबाट धनराशी ओइरिने र इमानदार नेतृत्वले सदुपयोग गर्ने भएकाले त्यस्ता मुलुकका लागि प्राकृतिक विपत्ति पनि पुनर्निर्माण र विकासको अवसर हुन्छ भने अपराधीसग साठगँठ गर्ने भ्रष्ट सरकारले प्राप्त धनराशीलाई उपयोग गर्न नजान्ने, नसक्ने, भागबन्डा गरेर गोजी भर्ने र झन् भ्रष्टाचार बढ्ने भएकाले त्यस्तो नेतृत्व भएको मुलुकमा प्राकृतिक प्रकोप चीरकालसम्म भयंकर अभिशाप बनेर रहन्छ भनेर त्यो सोध–अनुसन्धानले ठोकुवा गरेको छ । वैशाख १२ पछि भूकम्पले गरेको विनाश नेपाल राष्ट्रको इतिहासमै भयंकर महाविनाश हो । सामान्य तवरले यसबाट उतार्न तथा पुनर्निर्माण र नवनिर्माण गर्न सम्भव देखि“दैन । सर्वप्रथम नेपाली जनता एकजुट भएर एकढिक्का हुनुपर्छ । आत्मविश्वास, मनोबल र उत्साह जाग्नुपर्छ । आशंका र अविश्वासको कालो बादललाई फोर्नुपर्छ । त्यसका लागि नेतृत्वले आजैबाट त्यागको प्रतिस्पर्धा गर्न थाल्नुपर्छ । अरूको सफलताको अनुभवबाट सिक्न किन गाह्रो मान्ने ? सन् २००१ मा गएको भूकम्पपश्चात् मोदीले कसरी पुनर्निर्माण र नवनिर्माण गरे ? त्यसबाट हामीले धेरै सिक्न सक्छौ । सन् २००८ मा चीनको सिचुवान प्रान्तमा गएको भूकम्पपश्चात् चीनले कसरी पुनर्निर्माण र नवनिर्माण गर्‍यो ? त्यसबाट पनि हामीले धेरै सिक्न सक्छौ । नेतृत्व त्यागको नमुना बन्नासाथ विश्वास आर्जन हुन्छ र यो सब सम्भव छ ।

प्रतिक्रिया