क्रिकेट टोली तयारीका लागि भारत जाने

cricket-association-of-nepaकाठमाडौं, ६ जेठ । विश्वकप टि–ट्वान्टी क्रिकेट छनोट प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली भारत भ्रमणमा जाने भएको छ । नेपालले जेठमा भारत भ्रमणका क्रममा स्थानीय टोलीसँग केही अभ्यास खेलसमेत खेल्नेछ । भारतबाट फर्किएपछि नेपाली टोली इंग्ल्यान्ड र नेदरल्यान्ड हुँदै आयरल्यान्ड पुग्नेछ ।

सन् २०१६ मा भारतमा आयोजना हुने विश्वकप टि–ट्वान्टी क्रिकेटको छनोट प्रतियोगितामा एसोसिएट राष्ट्रले ९ जुलाईदेखि २६ सम्म आयरल्यान्ड र स्कटल्यान्डमा प्रतिस्पर्धा गर्नेछन् ।
स्कटल्यान्डविरुद्ध दुईवटा एकदिवसीय खेलको तयारीमा छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बिसिसिआई )ले नेपाललाई भारतको राष्ट्रिय एकेडेमीमा छनोटको तयारी गर्न दिने प्रस्ताव गरेको थियो । नेपाल क्रिकेट संघ क्यानको सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले टोलीलाई भारत पठाउने निर्णय गरेको हो ।
समूह ‘ए’मा रहेको नेपालले सबै खेल आयरल्यान्डमा खेल्नेछ । नेपालको समूहमा आयोजक आयरल्यान्डसँगै हङकङ, पपुवा न्युगिनी, नामिबिया, अमेरिका र जर्सी छन् । छनोटलगत्तै नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्र्तगत स्कटल्यान्डसँग दुई खेल खेल्नेछ । विश्वकप छनोटको तयारीकै लागि क्यानले विशेषज्ञ ब्याटिङ प्रशिक्षक र विदेशी फिजियो ल्याउने भएको छ ।
त्यसैगरी, क्रिकेटको विकास गर्ने उद्देश्यले नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ कार्यक्रम ल्याउने भएको छ । ‘ब्याट फर नेपाल’ नाम दिइएको कार्यक्रममा नेपामा क्रिकेटका केही संरचना निर्माणका लागि टेवा पुग्ने उद्देश्यले संचालन गर्न लागिएको क्यानकी सिइयो भावना घिमिरेले बताइन् ।
उक्त कार्यक्रमअनुसार मलेसियामा मलेसियाली क्रिकेट संघ र विश्व एघारसँग मैत्रीपूर्ण खेल खेल्नेछ । मलेसियाको क्रिकेट संघले भने क्यानसँग कार्यक्रमका लागि प्रस्ताव गरेको सिइयो भावना बतउँछिन् । उक्त खेलबाट उठेको रकम नेपालको क्रिकेट पूर्वाधारमा लगानी गरिने बताइएको छ ।
बन्द प्रशिक्षणमा २२ खेलाडी
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि प्रारम्भिक नेपाली टोलीको घोषणा गरेको छ ।
क्यानले मंगलबार ट्वान्टी–ट्वान्टी विश्वकप छनोट र आइसिसी विश्व क्रिकेट लिग च्याम्पियन्सअन्तर्गत नेपाल र स्कटल्यान्डबीच हुने खेलमा सहभागी हुनका लागि बन्द प्रशिक्षणका लागि पारस खड्काको नेतृत्वमा २२ जना खेलाडीको छनोट गरेको हो ।
प्रारम्भिक टोलीमा शरद भेषवाकर, वसन्त रेग्मी, सोमपाल कामी, करण केसी, सुवास खकुरेल, ज्ञानेन्द्र मल्ल र शक्ति गौचन, सागर पुन, विनोद भण्डारी, भुवन कार्की, प्रदीप ऐरी, जितेन्द्र मुखिया, पृथु बाँस्कोटा र अनिल मण्डल प्रारम्भिक टोलीमा अटाउन सफल भएका छन् । यस्तै सिद्धान्त लोहनी, मेहवुव आलम, राजेश पुलामी, अविनाश कर्ण, महेश कुमार क्षेत्री, हरिशंकर साह र सौरभ खनाल पनि बन्द प्रशिक्षणका लागि छनोट गरिएको क्यानका सचिव उत्तमकुमार कर्माचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बन्द प्रशिक्षणपछि यिनै टोलीबाट अन्तिम खेलाडी छनोट गरिने क्यानले जनाएको छ ।
ट्वान्टी–ट्वान्टी विश्वकप छनोट खेल आउँदो ३ जुलाईदेखि २६ सम्म आयरल्यान्ड र स्कटल्यान्डमा हुनेछ । यस्तै, आइसिसी विश्व क्रिकेट लिग च्याम्पियन्सिप २९ जुलाई र ३१ मा स्कटल्यान्डमा नै
हुँदै छ । (सौस)

प्रतिक्रिया